२०८१ बैशाख २५, मंगलबार    

आफ्नो पहिचान बनाउँदै बालगायक जेनिश उप्रेती

२०७८ माघ २९, शनिबार १४:१७ बजे

‘द भ्वाइस् किड्स नेपाल’को पहिलो सिजनको विजेता बनेपछि ११ वर्षीय जेनिश उप्रेतीको दौडधुप ह्वात्तै बढेको छ । विजेता बनिसकेपछि उनी बस्दै आएको जिल्ला चितवनमा भव्य स्वागत र्‍याली गरियो । हेटौंडा, झापा लगायतका स्थानमा पनि स्वागतसहित उनलाई सम्मान गरियो । कहिले कार्यक्रम, कहिले मिडियामा अन्तर्वार्ता । यस्तै दौडधुपको बीचमा केही दिन त बिसञ्चो भएर आराम नै गर्नुपर्‍यो । ‘भ्वाइस अफ किड्स’को विजेता बनेपछि जेनिशले विजेता बनेपछि यसैसाता आफ्नो स्वरमा पहिलो गीत रेकर्ड गराएका छन् । गीत रेकर्डिङको दिन साँझ साढे ६ बजे भेट्दा उनको अनुहार थकित देखिन्थ्यो । ‘बाबु थाकेको छ । बिहानदेखि केही खान पाएको पनि छैन,’ जेनिशका काका रमेश उप्रेती भन्दै थिए ।

यत्तिकैमा जेनिश आफैंले होटलमा झोलसहितको चाउचाउ अर्डर गरे । र, काकाको छेउमै आएर बसेर भने, ‘ल, अब कुरा गरौं ।’ जेनिशले भुपेन्द्र खड्काको शब्द, भानुभक्त ढकालको संगीतमा ‘मलाई तिम्रो हात देऊ’ बोलको सोलो गीत गाएका हुन् । पहिलो गीत रेकर्ड गराउँदा निकै खुसी लागेको जेनिशले सुनाए । ‘एकदमै खुसी लाग्यो । लाइभमा गाएको भन्दा फरक अनुभूति हुँदोरहेछ । गीतलाई लिएर एकदमै उत्साहित छु,’ उनले केही उत्साहित भावमै सुनाए ।

एक महिना अघिसम्म उनको परिचय के थियो ? ‘भ्वाइस किड्स’को फाइनलमा पुगेका प्रतिस्पर्धी । त्योभन्दा अघि ? आमजस्तै एक सामान्य फुच्चे बालक । अर्थात्, उनको परिचयको दायरा सीमित थियो । जब ‘भ्वाइस किड्स’को मञ्चमा उक्लिए, उनको परिचयको दायरा फराकिलो हुँदै गयो । उनलाई चिन्नेहरु, उनको गायकीलाई रुचाउनेहरु बढ्दै गए । अन्तत: गायक प्रमोद खरेल टिममा रहेका जेनिशले ‘भ्वाइस किड्स’को उपाधि आफ्नो पोल्टामा पारे ।

‘भ्वाइस किड्स’को यात्रा अनुभव सुनाउादै भने, ‘एकदमै रमाइलो–खुसीसागै डर पनि लागेको थियो । लाइभ राउण्डदेखि अर्को राउण्डमा प्रवेश गर्दा एकदमै डर लाग्थ्यो । फाइनलमा पनि सुरुसुरुमा एकदमै डर लागेको थियो ।’

‘भ्वाइस किड्स’मा जानुअघि र विजेता बनेपछि आफूमा धेरै कुराहरु परिवर्तन आएको जेनिश सुनाउँछन् । उनी आफूमा आएका परिवर्तनबारे मधुर स्वरमा सुनाउाछन्, ‘भ्वाइस किड्समा जानुअघि मेरो भोकलको रियाज पुगेको थिएन । त्यहाा गएपछि मलाई प्रमोद सर, करण सर, भानु सरले गाइड गर्नुभयो । त्यसपछि भोकलमा अलि परिवर्तन हुादै गयो ।’ ‘अनि’ जेनिश रोकिँदैनन्, अगाडि भन्छन्, ‘अहिले एकदमै धेरैले चिन्नुहुन्छ । माया गर्नुहुन्छ । पहिले अलि फ्री हुन्थें, अहिले समय व्यवस्थापन गर्न समेत गाह्रो छ ।’

‘भ्वाइस किड्स’ विजेता बनेपछि उनको दैनिकी फेरियो । फुर्सद दैनिकी व्यस्ततामा परिणत भयो । उनले चाहेअनुसार आफ्ना साथीभाइसँग खेल्न पाएका छैनन् । चाहेअनुसार हिंड्न पाएका छैनन् । काका रमेश भन्छन्, ‘ऊ बच्चा हो, स्वतन्त्र ढंगले खेल्न पाउने उसको उमेर हो । एउटा उमेर भएको भए आफ्नो कुरा आफैंले मेन्टेन गर्न सक्थ्यो । त्यो उसले गर्ने अवस्था छैन । आजभोलि हामीले पनि छोड्न मिलेको छैन । एउटा बन्धनभित्र बसेको अनुभव भएको जस्तो लाग्छ ।’ ‘आ’ यत्तिकैमा काकालाई रोकेर जेनिश बोल्छन्, ‘आफूले केही पाउन केही त गुमाउनैपर्‍यो नि ।’ (अनलाइनखबरबाट)