२०८१ बैशाख ७, शुक्रबार    

प्रतिष्ठान सम्बन्धी अध्यादेशबिरुद्ध मुख्यमन्त्रीलाई ध्यानाकर्षण

२०७८ चैत्र २५, शुक्रबार १४:०९ बजे

नेकपा एमाले सम्बद्ध मकवानपुरका जनवर्गीय संगठनहरुले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको विरुद्ध वाग्मती प्रदेश सरकारले ल्याएको अध्यादेश आन्दोलन जारी राखेको छ । सोही क्रममा संगठनले मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव स्किम श्रेष्ठमार्फत् मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मुख्यमन्त्री पाण्डे कार्यालयमा उपस्थित नहुनुभएपछि निमित्त प्रमुख सचिवमार्फत ध्यानाकर्षण पत्र बुझाइएको हो ।

वाग्मती प्रदेश सरकारको उक्त निर्णय फिर्ताको मागसहित शुक्रबार एमाले निकट अखिल नेपाल महिला संघ मकवानपुर, रिटर्नी फेडेरेशन नेपाल मकवानपुर, राष्ट्रिय युवा संघ नेपाल मकवानपुर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर, नेपाल खेलकुद महासंघ मकवानपुर, प्रेस चौतारी नेपाल मकवानपुर र नेपाल मुस्लिम इत्तेहाद संगठन मकवानपुर गरी ७ संगठनहरुले संयुक्त रुपमा मुख्यमन्त्री कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

वाग्मती प्रदेशको गौरवको रुपमा रहेको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको बिरुद्धमा अध्यादेश ल्याउँदै सामान्य ५० शैयामा सिमित रहेको हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत लगेर शिक्षण अस्पतालमा रुपान्तर गर्ने काम बर्तमान सरकारले रोक्नु खेदजनक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । पछिल्लो समयमा मकवानपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउने लक्ष्यका साथ तत्कालिन एमाले नेतृत्वको सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने खेलमा अहिलेको सरकार लागेको समेत दाबी गरिएको छ ।