हेटौंडा उपमहानगरपालिका कार्यालय एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन अवस्थामा छ । प्रशासकीय अधिकृत एक महिनादेखि रिक्त भएपछि उपमहानगरपालिकाका आर्थिक गतिविधिहरु अनिश्चित बनेको छ ।
सेवा निवृत्त हुनुअघि वैशाख १४ देखि प्रमुख प्रशासकीय अधिकृत भरत गौतम बिदामा बसेपछि उपमहानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिसँगै आर्थिक कामकाज रोकिएका थिए । गौतमको गत सोमबारदेखि अनिवार्य अवकाश भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गौतमको अनिवार्य अवकाशपछि पनि रिक्त पदपूर्ति भएको छैन । प्रमुख प्रशासकीय अधिकृतको अनिश्चिततासँगै उपमहानगरपालिकाको भुक्तानी, योजना फरफारक, बजेट निकासालगायतका सबै आर्थिक गतिविधि रोकिएका छन् ।
उपमहानगरपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपमहानगरपालिकाकी निर्देशक विष्णु कुमारी लामिछानेलाई तोके पनि भुक्तानीलगायत खरिद, बोलपत्र स्विकृत गर्नेलगायतका आर्थिक अधिकार दिइएको छैन । आर्थिक वर्षको अन्तिम समय नजिकिँदै गर्दा भुक्तानी कुरिरहेका सेवाग्राही मर्कामा परेका छन् ।
यसअघि नै उपमहानगरपालिकाले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुने कारण जनाउँदै सहसचिव तहको १ जना पदपूर्तिको माग गरिए पनि हालसम्म कसैलाई सिफारिस गरेको जानकारी नआएको उपमहानगरका प्रशासन महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिए ।
गत सोमबारबाट सदस्य सचिव पद नै रिक्त हुँदा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गर्ने काम पनि अनिश्चित बन्न पुगेको छ ।