२०८१ बैशाख ८, शनिबार    

उपमहानगरको एउटामात्रै बर्थिङ सेन्टरमा वर्षेनी सुत्केरी हुने बढ्दो

२०७८ माघ २८, शुक्रबार १६:०२ बजे

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकामा रहेको एउटामात्रै बर्थिङ सेन्टरमा वर्षेनी सुत्केरी गराउनेको संख्या बढ्दो अवस्थामा रहेको छ ।

हेटौंडा–१८, हर्नामाडीस्थित रामधुनीमा रहेको बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या बढिरहेको छ । तत्कालिन समयमा गाविसहुँदा स्थापित भएको यस संस्थामा गढी गाउँपालिका, वकैया र वाग्मतीदेखिका गर्भवती महिला सुत्केरी हुन आउने गरेका छन् । बर्थिङ सेन्टरका इञ्चार्ज रामकृष्ण खतिवडाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६७ जना र गतवर्ष यस बर्थिङ सेन्टरबाट ८३ जनाले सुत्केरी भएका थिए । चालु आर्थिक वर्षको ६ महिनामा ४७ जनाले सुत्केरी गराइसकेका छन् ।

birth

‘हामी थोरै जनशक्ति भएपनि बर्थिङ सेन्टरमा आउने गर्भवती महिलाहरुलाई सेवा दिइरहेका छौं ।’, उनका अनुसार त्यहाँ ८ जना कर्मचारी रहेका छन् । ‘हामी सामान्य सुत्केरी मात्र गराउँछौं । अप्रेशन गर्दैनौं । जटिल अवस्थामा रिफर गर्छौ ।’, उनका अनुसार गर्भवतीलाई रिफर गर्न २४ सैं घण्टा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने गरिएको छ ।

‘सुत्केरी गराउन बर्थिङ सेन्टरमा आउने महिलाको सम्पूर्ण रिपोर्ट हेरेर मात्र हामी काम गर्छौ । अन्यथा अस्पताल जान सुझाउने गरेका छौं ।’, उनले भने । चुरियामाई, पदमपोखरी हेटौंडा उपमहानगरमा गाभिएसँगै त्यहाँ रहेका बर्थिङ सेन्टर भने हाल बन्द रहेका छन् । जिल्लाको विकट क्षेत्रमा अझै पनि बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् ।