२०८१ बैशाख ८, शनिबार    

हेटौंडा–३ मा नि:शुल्क अंग्रेजी माध्यममा पढाउन सुरु

२०७९ आश्विन ९, आईतबार १७:३२ बजे

हेटौंडा–३, बसामाडीमा रहेका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यममा नि:शुल्करुपमा पढाउन सुरु गरेका छन् ।

वडा शिक्षा समन्वय समितिले नि:शुल्करुपमा अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएसँगै आइतबारबाट सामुदायिक विद्यालयहरुले पठनपाठन सुरु गरेका हुन् । वडामा रहेका बाल उज्जवल मावि र महेन्द्र किरण माविको कक्षा १ बाट अभियान सुरुवात गरिएको हो ।

शिक्षा समन्वय समितिले हेटौंडा उपमहानगरपालिका, उपमेयर राजेश बानियाँ र युनिलिभर नेपाल लिमिटेडसँगको सहकार्यमा पाँच वर्षभित्र कक्षा ५ सम्म नि:शुल्करुपमा अंग्रेजी माध्यमबाट शिक्षा दिने व्यवस्था गर्ने जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले अभियानको उद्घाटन गरेका थिए । अभियानको उद्घाटन गर्दे उपमेयर बानियाँले शिक्षा क्षेत्रको विकासमा उपमहानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले उपमहानगरपालिकाले आफ्नो पहिलो प्राथमिकतामा शिक्षा क्षेत्रलाई समावेश गरेको बताए । ‘हामीले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर समावेश गरेका छौं । हामी उपमहानगरको शिक्षा क्षेत्र सुधारका लागि आवश्यक काम गर्न तयार छौं ।’, उनले भने ।

उपमेयर बानियाँले हेटौंडामा विभिन्न किसिमको प्राविधिक शिक्षा भित्र्याउनेतर्फ उपमहानगरले काम गरिरहेको बताए । ‘हामी हेटौंडामै प्राविधिक शिक्षा पढ्ने व्यवस्था मिलाउादै छौं । अब प्राविधिक पढ्नका लागि छिमेकी जिल्ला धाउनुपर्दैन ।’, उनले आगामी शैक्षिक सत्रबाट धेरै विद्यालयले प्राविधिक शिक्षाको थालनी गर्ने बताए ।

समितिले कक्षा १ मा अध्ययनरत् ७० जना विद्यार्थीलाई एकवर्षका लागि आवश्यक पर्ने किताबसहित सम्पूर्ण स्टेशनरी सामग्री, ड्ेरस, ट्रयाकसुट र व्यागको व्यवस्था गरेको छ । आगामी वर्षबाट २ कक्षासम्म नि:शुल्क शिक्षाको व्यवस्था गर्ने गरी तयारी गरेको समिति सदस्य टेकनाथ शिवाकोटीले जानकारी दिए । ‘वर्षेनी हामी नि:शुल्क शिक्षाको दायरा बढाउँदै लैजान्छौं । अबको समय अंग्रेजी शिक्षाको हो । त्यसैले हामीले यस्तो व्यवस्था गरेको हौं ।’, शिवाकोटीले भने ।

वडा अध्यक्ष ढलकबहादुर थापाका अनुसार सम्पूर्ण विद्यार्थीलाई अंग्रेजी माध्यमबाट नि:शुल्करुपमा शिक्षा प्रदान गर्ने गरी तयारी गरिरहेको र त्यसका लागि दाताको खोजी कार्य भइरहेको बताए । अभियानको उद्घाटन समारोहमा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले कार्यक्रममा आफ्नो कला तथा सांस्कृति समेत प्रस्तुत गरेका थिए ।