२०८१ जेठ ८, मंगलबार    

गठबन्धनमा जुटेन सहमति, आज पनि बैठक

२०७८ फाल्गुन ६, शुक्रबार ०८:१२ बजे

अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान ९ बजे फेरि बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई जतिसक्दो छिटो संसद्मा अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेकाले शुक्रबारको बैठकमा सहमति हुने सम्भावना भने कमै रहेको गठबन्धनका एक नेताले बताए । बिहीबार अपराह्न बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रस्ताव राखेका थिए । उनले फागुन १६ भित्र एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनैपर्ने भएकाले संसद्मा पेस गरेर छलफल गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले यसअघि बुधबारकै बैठकमा सम्झौता अघि बढाउन कोसिस गरेका थिए । ‘एमसीसी सम्झौता पूर्ववर्ती सरकारले संसद्मा दर्ता गरेको हो ।

सरकार अविच्छिन्न उत्तराधिकारी हो । फागुन १६ सम्म निष्कर्षमा पुर्‍याउनुपर्ने हुनाले संसद्मा टेबल गर्न प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नु भएको छ,’ सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘त्यही प्रस्तावको वरिपरि छलफल भएको छ ।’ बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले परिमार्जन नभई एमसीसी सम्झौताका पक्षमा जान नसकिने उल्लेख गर्दै टेबल गर्न पनि संसद् खोल्नुपर्ने सर्त दोहोर्‍याएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ७ गते (शनिबार) पार्टीको बैठक भएको जनाउँदै त्यसपछि निर्णय दिने बताएका थिए । एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने परिमार्जन हुनुपर्ने अडान राखेका थिए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ‘शुक्रबार नै संसद्मा टेबल गरौं’ भन्ने प्रधानमन्त्री देउवाको प्रस्तावमा समर्थन जनाएका थिए । आफ्नै पार्टीमा पनि केही नेता संकीर्णताको पक्षमा देखिएको तर ठूलो संख्या एमसीसी सम्झौता अनुमोदन गरेर जानुपर्ने पक्षमा रहेको भट्टराईले दाबी गरे । दाहाल र नेपालको राजनीतिक स्वार्थले अन्योल सिर्जना गरेको उनको टिप्पणी छ ।

बैठककै बीचमा प्रधानमन्त्री देउवाले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जान लागेको जानकारी दिएका थिए । एक नेताका अनुसार देउवाले बालकोट जाने भनेपछि अरूले ठट्यौली पारामा ‘त्यहाँ केही सहमति हुँदै छ कि के हो ?’ भनेका थिए । ‘होइन, संसद्को अवरोध अन्त्य गर्नुपर्‍यो र एमसीसीबारे आफ्नो अडान प्रस्ट पार्नुपर्‍यो भन्न जान लागेको हो,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवासमा पुगेका थिए ।

एकीकृत समाजवादीका एक नेताले एमसीसी सम्झौता अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने खेल सुरु भएको दाबी गरे । ‘केपी ओली सबै सत्ता साझेदारी गर्न र एमसीसी पनि पास गर्न सहमत भए संसद् खुल्छ र यो प्रक्रियामा अगाडि बढ्छ । त्यसो हुँदा सभामुखलाई हटाउन कसरी दुई तिहाइ पुर्‍याउने भन्नेमा जान्छन् । ओली सहमत भएनन् भने के हुन्छ भन्नेचाहिँ अन्योल छ ।’