अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ ।
वर्षासँगै खसेको पहिरो हटाएपछि पछि सडकमा यातायात पुनःसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरो खस्दा गएरातिदेखि सो सडक अबरुद्ध भएको थियो ।
शुक्रबारदेखिको अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने अधिकांश सडक अवरुद्ध बनेका छन् । अविरल वर्षाकै कारण पहिरो खस्दा अवरुद्ध कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ प्रतापडाँडास्थित खण्डमा पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए ।
पहिरो जाँदा अवरुद्ध भएको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक मातातीर्थ, चखेल र देउराली जाने सडकखण्डमा पनि पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी फाकेलबाट खटिएको टोलीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
अविरल वर्षाकै कारण अवरुद्ध रहेको भिमफेदी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–४ रातोमाटेस्थित सडकमा पनि पहिलो हटाउने काम भइरहेको छ । इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको टोलीले सडक विभागको समन्वयमा पहिरो हटाउने कार्य गर्दै आएको उनको भनाइ छ ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ८ महादेवटार, प्रतापडाडा, बकैया गाउँपालिका–१२ आले, सिमात घुम्ती सडकखण्डमा पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक भण्डारीले बताए ।