२०८१ बैशाख ८, शनिबार    

पुरानै लयमा फर्किएला वार्सिलोना ?

२०७९ श्रावण २७, शुक्रबार ०८:४५ बजे

स्पेनी फुटबलको नयाँ सिजन सुरु हुन लाग्दा बार्सिलोनाको स्पष्ट दुई प्रयास हुनेछ । एक त बार्सिलोना घरेलु ला लिगामा पुरानै शक्ति हुने उद्देश्यमा रहनेछ । दोस्रो युरोपेली च्याम्पियन्स लिगमा पनि बार्सिलोना पुरानै लयमा देखिन चाहन्छ । यसका लागि बार्सिलोनाले नयाँ खेलाडीमा मज्जाले खर्च गरेको छ । यो एक प्रकारले क्लबले ‘ट्रान्सफर मार्केट’ मा जोखिम उठाएको पनि हो । किनभने बार्सिलोना आफैं चर्को ऋणमा छ ।

बार्सिलोनाले लियोनल मेसीलाई छाडेको एक वर्ष भयो । कारण थियो, एक अर्ब ३५ करोड युरोको ऋण । यो त असाध्यै धेरै ऋण हो । तर यही बार्सिलोनाले यसपल्ट १५ करोड ३० लाख युरो नयाँ खेलाडीमा खर्चेको छ । त्यसमध्ये क्लबमा भित्रिएका सबैभन्दा ठूला नाम हुन्, रोबर्ट लेवान्डोस्की । सबैभन्दा ठूलो प्रशिक्षक जाभी हर्नान्डेज आफैं निकै उत्साही छन् । गत साता बार्सिलोनाले मैत्रीपूर्ण खेलमा मेक्सिकोको पुमास यूएनएएमलाई सजिलै ६–० ले हरायो ।

त्यस खेलपछि जाभीले भनेका थिए, ‘अबको सिजन निकै रोमाञ्चक हुनेछ । म आफैं उत्तिकै उत्साहित छु । म बार्सिलोनाका समर्थकलाई खुसी बनाउन सक्छु भने त्योभन्दा ठूलो उपलब्धि केही हुने छैन । यसका लागि हामीले उपाधिहरू जित्नुपर्नेछ । यो नै हाम्रो मुख्य उद्देश्य रहनेछ ।’

पछिल्ला तीन वर्ष मैदानबाहिर होस् वा मैदानभित्र बार्सिलोनाका लागि निकै उतारचढावपूर्ण रह्यो । तर नयाँ सिजनको ठीक अगाडि क्याम्प नोउमा केही आशाका किरण पक्कै देखिएका छन् ।

अध्यक्ष जोन लापोर्टेले पनि आफू क्लबको नयाँ अध्यायका लागि उत्साहित रहेको बताएका छन् । उनले यसको कारण लेवान्डोस्कीको आगमन मानेका छन् । त्यही दिन बार्सिलोनाका केही स्थानीय पत्रिकाले आफ्नो मुख्य समाचार यसैलाई बनाएका छन् । त्यसको शीर्षक पनि राखेका छन् ‘युफोरिया’ । रियल म्याड्रिडको समर्थक रहेको मार्काले पनि बार्सिलोनालाई बलियो मानेको छ । म्याड्रिडबाटै प्रकाशित हुने यस खेलपत्रिका दैनिकले बार्सिलोनालाई अब्बल मानेको छ ।

मेक्सिकोको टिमलाई पराजित गरेपछि मार्काको यो प्रतिक्रिया बाहिर आएको हो । त्यसै खेलमा बायर्न म्युनिकबाट बार्सिलोना आएयता लेवान्डोस्कीले पनि पहिलो गोल गरे । बार्सिलोनाले यसपल्ट लेवान्डोस्कीलाई मात्र अनुबन्ध गरेको छैन, सेन्ट्रल ब्याक जुलेस कोउन्डे र आन्द्रेस क्रिस्टेनसनलाई पनि किनेको छ । यस्तै एसी मिलानबाट मिडफिल्डर फ्रान्क केसी र लिड्स युनाइटेडबाट ब्राजिली विंगर राफिन्हालाई पनि

आफ्नो बनाएको छ । बार्सिलोनाको यो अनुबन्धले उसका खास–खास प्रतिद्वन्द्वीलाई एक प्रकारको त्रास महसुस गराएको छ । ला लिगाको आर्थिक आचारसंहिताको नियमअनुसार बार्सिलोनालाई आफूखुसी खर्च गर्न बन्देज छ । त्यसैले बार्साले आफ्नो आर्थिक स्थिति मजबुत बनाउनुपर्नेछ र बजारबाट लगानी उठाउनुपर्नेछ । त्यो पनि सकेसम्म चाँडोभन्दा चाँडो नयाँ खेलाडी दर्ता गर्नका लागि बार्सिलोनासामु यही सबैभन्दा ठूलो चुनौतीे छ ।