२०८१ बैशाख १६, आईतबार    

भेट्रान्स कप सुरु, आयोजक र थापा गाउँ विजयी

२०७९ भाद्र १८, शनिबार १७:५८ बजे

हेटौंडा–७, नागस्वतीमा सुरु भएको ४० वर्षमाथिको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक र थापा गाउँले विजयी सुरुवात गरेका छन् ।

आयोजकले पशुपति नगर हेटौंडालाई २–० गोलअन्तरले पराजित गरेको हो । हेटौंडाको विजय युथ क्लब सहभागी नहुँदा थापा गाउँ वाकओभर पाउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । भदौ २२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् ।

प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलाडी उत्पादमा क्लबहरुले जोड दिनुपर्ने औंल्याइन् । उनले चालु आवमा खेल क्षेत्रका लागि करिब सात करोड रुपैयाँ विनियोजन गरेको समेत बताइन् ।स्थानीय नवज्योति माविको मैदानमा जारी प्रतियोगितामा १८ टिमको सहभागी छ ।

आयोजक क्लब अध्यक्ष सोमबहादुर तितुङको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो । प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब १५ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका तथा अन्य संघसंस्थाबाट सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ । क्लबको साधारणसभाबाट गरिएको निर्णयअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो ।