फुटबल खेलको लागि प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसाथ हेटौंडामा सञ्चालन भएको ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सम्पन्न भएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १२ गतेबाट ‘डी’ लाइसेन्सको कोचिङ्ग कोर्ष सञ्चालन भएको थियो ।
प्रशिक्षणमा चितवनका ३ जना, रौटहटका २ जना, कञ्चनपुरका १ जना र मकवानपुरका २९ जना गरी ३५ जनाको सहभागिता रहेको थियो । चार दिनसम्म हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा सञ्चालन भएको कोचिङ्ग कोर्षलाई एन्फाका ए लाइन्से कोच चेतनारायण श्रेष्ठ र स्थानीय कोच विजयलाल श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । तालिमबाट सिकेका कुराहरूलाई अरूलाई पनि सिकाउनु पर्नेमा मन्त्री मोक्तानले जोड दिइन् ।
खेलकुद क्षेत्रको विकासको लागि छलफल तथा अन्तरक्रियाबाट अगाडी बढ्नुपर्ने उनले बताइन् । मकवानपुरमा फुटबलको प्रशिक्षक कम भएकोले गर्दा कार्यक्रम आयोजना गरेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए । हेटौंडामा सञ्चालन भएको प्रशिक्षण उद्देश्य अनुरुप सम्पन्न भएको लामाले बताए ।
कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य माधव तिमल्सिना, अखिल नेपाल फुटबल संघ (एन्फा) बागमती प्रदेश महासचिव लवराज ठकुरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालालगायतको आतिथ्यता रहेको थियो ।