२०८१ जेठ २, बुधबार    

हेटौंडा उपमहानगरमा पहिलो पटक स्थानीय पाठ्यक्रम

२०७९ असार २८, मंगलबार १५:४० बजे

हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ ।

हेटौंडा उपमहानगरले चालु शैक्षिक सत्र २०७९ बाटै उपमहानगर क्षेत्रका सबै निजी र सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो । उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यविधि २०७७ तयार पारेर मापदण्डलाई आधार मान्दै निजी र सामुदायिक विद्यालयको कक्षा १ देखि ३ सम्म ‘हाम्रो हेटौंडा’ नामको स्थानीय पाठ्क्रम लागू गर्ने तयारी गरेको उपमहानगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

पाठ्यक्रमको छपाइ अन्तिम चरणमा रहेको र चालु शैक्षिक सत्रबाटै ‘हाम्रो हेटौंडा’ पठनपाठन सुरु गरिने प्रमुख लामाले जानकारी दिइन् । ‘स्थानीय पाठ्यक्रम लागू गर्नका लागि उपमहानगरको ४ असारमा बसेको कार्यपालिका बैठकले नगरका सबै बिद्यालयमा अनिवार्य कार्यान्वयन गर्न निर्देशनसमेत दिइएको छ ।’ उनले भनिन्, ‘पाठ्यक्रमले स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप, प्रविधि, पेशा, संस्कृतिसहित प्राकृतिक पक्षहरु संरक्षण र प्रवद्र्धनको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले सबै बिषयको बारेमा बिद्यालय तहबाटै जानकारी गराउनका लागि सबै बिद्यालयमा अनिवार्य स्थानीय पाठ्यक्रम लागू गरिनेछ ।’

१ सय ६० पूणाङ्क रहेको पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म साप्ताहिक ५ घण्टा अध्यापन गर्नुपर्ने व्यवस्था रहेको छ । जस्मा ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत अंक प्रयोगात्मकमा रहने छ । पुस्तकमा म, हामी, मेरो परिवार, मेरो समुदाय, मेरो हेटौंडा उपमहानगर, हाम्रो उपमहानगरको पहिचान, हाम्रो प्राकृतिक एवम् सांस्कृतिक सम्पदा, हाम्रो पेशा, व्यवसाय, हाम्रो जानजाती, हाम्रो पहिरन, हाम्रो बिद्यालयको नक्सालाई समेटिएको छ ।

पहिलो चरणमा १ देखि ३ कक्षासम्म लागू गरिए पनि आगामी शैक्षिक सत्रमा बिस्तार गर्दै कक्षा ५ सम्म पाठ्यक्रम सञ्चालन गर्ने योजना उपमहानगरपालिको छ ।

पाठ्यक्रम पूर्ण रुपमा लागू गर्ने उद्देश्यसहित उपमहानगरपालिकाले निजी तथा सामुदायिक बिद्यालयका शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधिकरणसमेत गरेको छ । उपमहानगरपालिकाले हेटौंडाका १९ वटै वडामा रहेका निजी र सामुदायीक गरी १ सय २६ बिद्यालयका शिक्षकलाई पाठ्यक्रम प्रबोधिकरण गराएको हो । प्रबोधिकरणमा ५० निजी र ७६ सामुदायिक बिद्यालयका शिक्षकहरु सहभागि थिए । सबै बिद्यालयलाई एकै पटक असम्भब भएपछि तीन कार्यक्रम आयोजना गरेर शिक्षकलाई प्रबोधिकरण गराइएको हो । प्रबोधिकरणमा हरेक बिद्यालयबाट १÷१ जना बिषयगत शिक्षकको सहभागिता रहेको थियो ।

नेपालको संविधान, २०७२ को स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) ले दिएको अधिकार कार्यान्वयन गर्दै स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्न लागेको उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले बताए ।

उनले पठ्यक्रम हेटौंडाको पहिचान झल्कने गरी तयार गरिएकोले ‘हाम्रो हेटौंडा’ नामक स्थानीय पाठ्यक्रमले समग्र उपमहानगरपालिकाकोे परिचयसहितका विषयवस्तुहरु समेटिएकोले नगरको एक मौलिक सम्पत्तिको रुपमा रहने बताए । पाठ्यक्रम लागू गर्नका लागि पहिलो चरणमा ५ लाख रुपैयाँ बजेटको व्यवस्थापन गरिएको उपप्रमुख बानियाँले जानकारी दिए ।