२०८० चैत्र १६, शुक्रबार    

एमालेको हेटौंडा ५ मा घरदैलो, एकालालद्वारा हटलाइन सञ्चालन

२०७९ कार्तिक २२, मंगलबार ०९:३८ बजे

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले घरदैलो कार्यक्रम जारी राखेको छ ।

मकवानपुर क्षेत्र नम्बर–१ हेटौंडा उपमहानगरपालिका ५ को विभिन्न टोलमा घर घर पुगेर उम्मेदवारले मत मागेका छन् । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार एकालाल श्रेष्ठ गतकात्तिक १७ गतेबाट नै चुनावी सभा र घरदैलोमा मत माग्न व्यस्त रहेका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा बकैया गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुर गढी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडा तथा हेटौंडा उपमहानगरपालिकाको २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडा पर्छ । यस क्षेत्र नम्बर १ ‘ख’ मा हेटौंडा उपमहानगरपालिकाको २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४ र १५ नम्बर वडा पर्छ । समानुपातिक उम्मेदवार भारती पाठक, थापा र श्रेष्ठको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

हेटौंडा ५ को सिञ्चाइकुना–दक्षिणकाली–राईटोल–ढुङ्गेधारा–नवीन टोल–मास्टरचोक–वनदेवि टोललगायत स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो । जनचाहनाअनुसार काम गर्ने उम्मेदवार कमल थापा र एकालाल श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।

घरदैलो कार्यक्रममा स्थानीयहरुले ढल निकासको समस्या, सडक स्तरीकरण नहुँदाको समस्या राखेका थिए । यसैगरी देशको प्रमुख जनशक्ति युवाहरुको विदेश पलायनलाई रोक्न स्थानीयको माग थियो । मकवानपुर क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदबार एकालाल श्रेष्ठले हटलाइन नम्बर सञ्चालनमा ल्याएका छन् । उनले चुनावी अभियानको बारेमा आवश्यक जानकारी, जिज्ञासा, धारणा एवम् सल्लाह, सुझाव र गुनासोको लागि ९८५११४८२८८ नम्बर सञ्चालनमा ल्याएका छन् ।