२०८१ जेठ ४, शुक्रबार    

सेटिङमा भुक्तानी, चारवर्षमा पनि भएन राक्सिराङमा विद्युत विस्तार

२०७८ माघ १४, शुक्रबार १६:५७ बजे

हेटौंडा/ ठेकदार र नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण मकवानपुरको विकट भनिने राक्सिराङ गाउँपालिकामा चारवर्षमा पनि विद्युत विस्तार हुन सकेको छैन ।

राक्सिराङ्ग गाउँपालिकाका ९ वटै वडामा विद्युत विस्तार र काठे खम्बा विस्थापित गर्ने योजनाका साथ २०७५ सालमै प्राधिकरणको खातामा पालिकाले १ करोड जम्मा गरेको थियो । उक्त रकममा प्राधिकरणले पनि १ करोड थप गरी २ करोडको योजना बनाएर सुरु गरिएको थियो । एक बर्षभित्रमा सम्पन्न गरिसक्नु पर्ने काम भए पनि अझै सकिएको छैन । अहिले पोल र तारहरु बाटो वरिपरि छरपस्ट रहेका छन् ।

निर्माण कम्पनी ठेकदारसँग कुरा गर्दा प्राधिकरणकै कारण केही समय काम ढिलो भए पनि आफूहरुले सबै काम सम्पन्न गरिसकेको बताए । तर, काम भने शुन्य सम्पन्न भएको छ । प्राधिकरणको हेटौंडा केन्द्रको अभिलेखमा २०७८ असार २५ गते खैराङ्ग खुर्कोट क्षेत्रमा ३४५ पोल लगिएको देखिन्छ । तर, त्यो क्षेत्रमा ७४ वटा मात्रै पोल पुगेको छ । ८ नम्बर वडाको कुत्सिङ्गमा २०७६ फागुन ३० गते १०५ र ८६ वटा विभिन्न किल्ला काटा लागेको कागजमा अभिलेख छ । २ नम्बरको कुडुलेमा ९४ वटा विद्युतीय सामाग्रीको खर्च भन्दै २०७७ असार २४ गते २९ लाख १५ हजार ८ रुपैयाँ १० पैसा खर्च भएको लेखा शाखाको अभिलेख छ । कुडुलेमै २०७८ जेष्ठ ३१ मा थप ७० पोल र जडान सहितको सबै काम गरेको प्रतिबेदनमा उल्लेख छ । सबै काम सकेको भनिए पनि उक्त स्थानहरुमा अझै पोल र तार सबै भुइँमै छरपस्ट रहेका छन् । ती सबै प्रतिवेदन र अभिलेख हेर्दा प्राधिकरणका कर्मचारी, ठेकदार कम्पनी, र सम्बन्धित वडा अध्यक्षहरुको समेत मिलेमतोमा सम्पन्न नभएको कामलाई गलत प्रतिबेदन बुझाएर भुक्तानी भएको देखिन्छ ।

आफ्नो बारीको अन्नबालीले बर्षभरी खाना नपुग्ने रोजगारीको कुनै पनि विकल्प नभएको साथै अत्यावश्यक सामाग्री किनमेल गर्न पनि ६/७ घण्टाको पैदल हिंडेर बजार आउनु पर्ने बाध्यत छ । यहाँ अधिकांश चेपाङ र तामाङ समुदायको बसोबास पाइन्छ । सेवा सुविधामा सबैतिरबाट ठगिएको राक्सिराङ्गका बासिन्दा अहिले पुन: विद्युत प्राधिकरणबाट पनि ठगिएको महसुस गरिरहेका छन् ।

गाउँपालिका र प्राधिकरणको आधाआधा बजेटमा हुने भनिएको काम कति सम्पन्न भयो वा भएन भनेर गाउ/पालिकाले पटक–पटक जानकारी लिन पत्र पठाएको भए पनि स्थानीय पालिकालाई कुनै पनि जानकारी नदिएको अध्यक्ष राजकुमार मल्लले बताए । प्राधिकरणमा धेरै पटक धाउँदा समेत प्राधिकरणले वेवास्ता नगर्ने भोली आउनु पर्सी आउनु भनेर फर्काउने गरेको अध्यक्ष मल्लले गुनासो छ ।