हेटौंडा उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक ऐन संशोधन नहुने भएको छ ।
मकवानपुर उद्योग बाणिज्य संघले आन्दोलन र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हस्ताक्षर संकलमार्फत् विशेष नगरसभाको माग राख्दै चालु आवमा हेटौंडा उपमहानगरमा करको दर वृद्धि खारेज गर्नुपर्ने बताउँदै आएका थिए ।
बुधबार बसेको विशेष नगरसभाको दोस्रो वैठकले चालु आर्थिक वर्षको करको दर घटबढ नगर्ने निर्णय गरेको हेटौंडा–१ का वडा अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । करको दर हेरफेर गर्नका लागि विशेष नगरसभाको पहिलो वैठकले हेटौंडाका उपमेयर राजेश बानियाँको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।
कार्यदलले तयार पारेको प्रतिवेदनलाई विशेष नगरसभाको दोस्रो वैठकले पारित गरेसँगै यसवर्ष करको दर आर्थिक ऐनमा भए अनुसारकै हुने भएको हो । कार्यदलले तयार पारेको प्रतिवेदन उपमहानगरको मंगलबार बसेको ५५ औं कार्यपालिका वैठकमा उपमेयर बानियाँले पेश गरेका थिए । उक्त प्रतिवेदन विशेष नगरसभाको वैठकमा निर्णायार्थ पेश गरिएकोमा सर्वसम्मतरुपमा पारित भएको हो ।
‘करको दरमा हेरफेर भएको छैन । उपमहानगरले असोज मसान्तसम्मलाई दिएको कर छुटलाई भने पुस समान्तसम्म पुर्याएका छौं ।’, प्रवक्ता न्यौपानेका अनुसार विशेष नगरसभाले आगामी आवको आर्थिक ऐनको समयमा करको दर हेरफेरका लागि संकल्प प्रस्ताव भने पास गरिएको छ ।
‘आर्थिक ऐन संशोधन गर्दा विनियोजन विधेयकलाई समेत असर पर्छ । त्यसकारण जनप्रतिनिधिहरुले चालु आवको दायित्वलाई मध्यनजर गरेर यस निर्णयमा पुगिएको हो ।’, उनले भने ।