२०८० चैत्र १५, बिहीबार    

सरकारी अनुदान गलत प्रयोग भयो : उपप्रमुख बानियाँ

२०७९ जेठ २८, शनिबार २०:२९ बजे

हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले सरकारले किसानलाई दिँदै आएको अनुदानको गलत प्रयोग भएको बताएका छन् । विपन्न तथा गरिव वर्गका किसानको उत्थानका लागि सरकारले प्रदान गर्ने अनुदान सहि काममा प्रयोग नभएको वताए ।

हेटौंडामा मकवानपुर कुखुरा व्यवसायी संघको १५ औं साधारणसभालाई सम्बोधन गर्दै उपप्रमुख बानियाँले काम गर्नका लागि पुँजी नभएका वर्ग लक्षित गर्दै सरकारले दिएको अनुदान हुनेखानेको पहँुचमा मात्र सीमित रहेको बताए । काम गर्नकै लागि आर्थिक समस्या नहोस भन्नका लागि सरकारले दिएको अनुदान लक्षित वर्गसम्म पुग्न नसकेको र पहुँचमा रहेका बर्गले कृषकको केही काम देखाएर फरक ठाउँमा लगानी गरेको बताए ।


स्थानीयस्तरको उदाहरण दिँदै उनले भने सरकारको अनुदान जग्गा जमिनको कारोवारमा केन्द्रीत बनेको बताए । उनले यो प्रवृति नहटेसम्म तल्लो तहमा रहेर काम गर्ने किसान कहिलेपनि उभो नलाग्ने दाबी गरे । उपप्रमुख बानियाँले अहिले पनि कुखुरा पालक किसान धरासाही रहेको बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजु अधिकारीले उपमहानगर क्षेत्रमा किसानको हितका लागि प्रविधी र प्राविधिक रहेको एम्बुलेन्स सञ्चालनको आवश्यकता भएको बताए । उनले उपमहानगरले किसानको हितका लागि अण्डा र दूधको प्रयोगलाई बढाउने काममा सहयोग गर्न आग्रह गरे ।


संघका अध्यक्ष गोकुलनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चितवन नवलपुर दाना तथा अण्डा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल दाना उद्योग संघका केन्द्रीय सदस्य बिनोद पोखरेल, नेपाल अण्डा उत्पादन सघका उपाध्यक्ष किरणभूषण ओली लगायतले पोल्ट्री क्षेत्रको विकासका लागि खुला सीमाबाट आउने कुखुरा, अण्डा तथा चल्ला रोक्न आवश्यक रहेको औंल्याए ।