हेटौडा स्कूल अफ म्यानेजमेन्टले स्नातक तहमा अध्ययन गरिरहेका एक विद्यार्थीलाई व्यवसाय सञ्चालनमा सघाउ पु¥याउने उद्देश्यसहित बीउ पुँजी हस्तान्तरण गरेको छ ।
उद्यम र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित द एड मेकर्सलाई १० लाख रुपैयाँ बीउ पुँजी मध्ये दोस्रो किस्ता वापत ४ लाख रुपैयाँ मंगलबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । स्नातक तह तेस्रो वर्ष वाणिज्य संकायमा अध्ययनरत विद्यार्थी सक्षम ज्ञवालीले द एड मेकर्स सञ्चालन गर्दै आएका छन् ।
उनलाई हेटौंडा स्कूल अफ म्यानेजमेण्टका प्रमुख पुरणबहादुर जोशीले ४ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । ज्ञवालीलाई म्यानेजमेन्टले यसअघि पनि एकलाख ५० हजार रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको थियो । बाँकी रकम केही महिनापछि हस्तान्तरण गरिने बताइएको छ । विश्वविद्यालय अनुदान आयोग (युजीसी) मार्फत प्राप्त बीउ पुँजी विद्यार्थीलाई हस्तान्तरण गरिएको बताइएको छ ।
विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा प्रेरित गर्न म्यानेजमेन्टले ओपन इनोभेसन हव स्थापना गरेर सञ्चालन गरिरहेको छ । पहिलो किस्ता वापतको एकलाख ५० हजार रुपैयाँ ज्ञवालीले फिर्ता गरिसकेको जानकारी दिइएको छ । उद्यम तथा व्यवसायको विज्ञापन निर्माणको काम गर्ने द एड मेकरले १ सय भन्दा बढी सेवाग्राहीलाई सेवा गरिसकेको र अहिले पनि २० वटा नियमित सेवाग्राही रहेको बताइएको छ ।
म्यानेजमेन्टका प्रमुख जोशीले महत्वाकांक्षी परियोजनाको रुपमा विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा जोडेर बीउ पुँजी दिँदै आएको बताए । यसबाट अन्य विद्यार्थीलाई समेत उत्प्रेरणा मिल्ने विश्वास लिइएको जोशीले बताए ।