मकवानपुरका दुर्गम क्षेत्रका पालिकास्थित सामुदायिक माध्यमिक विद्यालयको २०८० सालको विद्यालय परीक्षा (एसईई)मा छात्रछात्राहरु अत्यन्त न्युन संख्यामा उत्तिर्ण भएका छन ।
माध्यमिक शिक्षा परीक्षा(एसईई)मा जिल्लाको विकट कैलाश गाउँपालिकाका ११ जना विद्यार्थी उत्तिर्ण भएका छन । एक सय ९९ जना विद्यार्थी सहभागी भएका थिए । विहीवार सार्वजनिक भएको नतिजा अनुसार कैलाश गापाको कालीदेवी मावि र रत्न ज्योती माविका एक जना पनि विद्यार्थी एसईईमा उत्तिर्ण भएका छैनन ।
मकवानपुर जिल्लामा एसर्ईईको नतिजामा ९ वटा पालिकाको १५ वटा सामुदायिक माध्यमिक विद्यालय र हेटौडा उपमहानगरपालिकास्थित एक संस्थागत विद्यालयको नतिजा सुन्य आएको छ ।
कैलाश गापा—२ वाग्मती गापाका २ वटा,मकवानपुर गढी —१, ईन्द्रसरोवर गापाको १, राक्सिराङ गापा—१, मनहरी गापा—३, भीमफेदी गापा —२ वकैया गापा—२ र हेटौडा उपमहानगरपालिका—१ एवं संस्थागत १ गरी समेत गरी १६ वटा सामुदायिक विद्यालयको नतिजा सुन्य भएको छ । ग्रामिण भेगका विद्यालयहरुका विद्यार्थी एसईई परिक्षामा अत्यन्त न्युन संख्यामा उत्तिर्ण भएकाले ग्रामिण भेगमा संचालन भईरहेको ११ कक्षाको पढाई पनि विद्यार्थीको अभाव अवरुद्ध हुने भएको छ ।
मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये २ हजार ९८ जना (३६.४७ प्रतिशत) ११ कक्षा भर्ना हुन योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । एसईई परीक्षामा सामुदायिक मावि ९९ र संस्थागत मावि ३९ वटा गरी एक सय ३८ विद्यालयका विद्यार्थी एसईई परिक्षामा सहभागी थिए ।