२०८१ बैशाख २७, बिहीबार    

हेटौंडाका रविले उत्कृष्ट प्रदर्शन गर्दा एपीएफ सेमिफाइनलमा

२०७८ माघ ८, शनिबार १८:०७ बजे

पोखरा/अमेरिकी टोली भुटानिज युथ स्पोर्ट्स क्लब ९बिवाइएससी० लाई पराजित गर्दै नेपाल एपिएफ फुटबल क्लब २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले ३–१ को जित दर्ता गर्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । बिवाइएससीले खेलमा सुरुवाती अग्रता बनाएपनि एपिएफले त्यसपछि दुई गोल फर्काउँदै जित हासिल गरेको हो ।
दोस्रो हाफको ४८ औं मिनेटमा बिवाइएससीले सुरुवाती अग्रता लिएको थियो । मिगेल पालाफक्सले हेडरमार्फत गोल गर्दै पाहुना टोलीलाई गर्त दिलाए । ६९ औं मिनेटमा एपिएफले आवास लामिछानेको पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो । ६ यार्ड बक्सभित्र अर्मान्ड बदोममाथि फल भएपछि रेफ्री नविन्द्र महर्जनले विभागीय टोलीलाई पेनाल्टी दिएका थिए । आवासले उक्त पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

८४ औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेको हेटौंडेली खेलाडी रवि थिङले गोल गर्दै एपिएफलाई अघि बढाए । आवासको थ्रु पासलाई रविले पेनाल्टी क्षेत्रको दायाँ भागबाट उत्कृष्ट फिनिस गर्दै अग्रता दिलाए । इन्ज्युरी समयमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरे ।

एपिएफले अब सेमिफाइनलमा सोमबार हुने संकटा र मछिन्द्रबीचको विजेतासँग खेल्नेछ । आइतबार प्रतियोगिता अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।