२०८१ बैशाख ३१, सोमबार    

जिल्लामा ८७ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

२०७८ माघ २६, बुधबार १५:५१ बजे

हेटौंडा/ मकवानपुर जिल्लामा ८७ प्रतिशतले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाइसकेका छन् । सरकारले चैतभित्र शतप्रतिशत जनसंख्याले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको घोषणा गर्ने तयारी गरेसँगै हाल जिल्लाभर खोप अभियान सञ्चालन भइरहेको छ ।

स्थानीय प्रशासनले वाग्मती प्रदेशको राजधानी हेटौंडाको वुद्धचोकमै कोरोनाविरुद्धको खोपकेन्द्र स्थापना गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा बुधबारबाट विशेष खोप सप्ताह सुरु गरिएको हो । यस अभियान सातदिनसम्म सञ्चालन हुनेछ । हेटौंडाको बुद्धचोकमै कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई लक्षित गरेर खोप सप्ताह सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । उनका अनुसार प्रतिदिन करिब एकहजार जनाले सेवा लिने अनुमान गरिएको छ ।

यस अभियानमा पुरानो नारायणी यातायात कम्पनी प्रालि, ग्रामिण जागरण तथा विकास संगठन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ नेपाल मकवानपुरले सहयोग गरिरहेका छन् ।