२०८१ बैशाख २३, आईतबार    

कांग्रेसलाई जिताउनुस् पछुताउनुपर्दैन : राजेश भेटवाल

२०७८ चैत्र ५, शनिबार १६:३७ बजे

नेपाली कांग्रेस मकवानपुरका युवा नेता राजेश भेटवालले स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन अपिल गरेका छन् ।

कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत् हेटौंडा–१, नकौलीमा शनिबार भएको कार्यक्रममा सम्बोधन गर्दै जिल्ला प्रतिनिधि तथा प्रमुख अतिथि भेटवालले स्थानीय तहमा कांग्रेसलाई जिताउँदा जनताले पछुताउनुपर्ने अवस्था नरहने दावी गरे ।

‘कांग्रेसले जितेको स्थानमा विकासको लहर सिर्जना हुन्छ । कम्युनिष्टले जितेको स्थानमा भ्रष्टाचारको लहर देखिन्छ । त्यसैले कांग्रेसलाई जिताउनुस्, तपाईंहरुले पछुताउनुपर्दैन ।’, कांग्रेस महासमिति सदस्य समेत रहेका भेटवालले स्थानीय तहमा कांग्रेसको उम्मेदवारलाई जिताउन पार्टीको सिंगो पंक्ति नै परिचालन हुनुपर्ने औंल्याए । ‘कम्युनिष्टले जितेमा देश कस्तो हुन्छ भनेर हामीले देखिसकेका छौं । बहुमत आए सदन विघटन गर्ने, प्रतिपक्ष भए सदन चल्न नदिने । देशको निकास कांग्रेसले दिनुपर्ने भएपछि मतदान पनि कांग्रेसलाई नै गर्नुस् ।’, उनले भने ।

वडासभापति हरिकृष्ण महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस युवा नेता प्रभात दाहाल, आनन्दराम पराजुली, राजेश बानियाँ, रामकृष्ण कोइराला, महाधिवेशन प्रतिनिधि राज मैनाली (दिनेश) तथा वडा अध्यक्ष सविन न्यौपानेलगायत सहभागी थिए ।

कार्यक्रममा ४५ जना कांग्रेस प्रवेश गरेको कार्यक्रम सञ्चालन नेपाल शिक्षक संघ मकवानपुर सचिव विदुरविक्रम थापाले जानकारी दिए ।