२०८१ बैशाख १३, बिहीबार    

मकवानपुरको सबै पालिकामा कांग्रेसले केन्द्रबाटै प्रतिनिधि पठाउने

२०७९ बैशाख २, शुक्रबार १९:३७ बजे

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर मकवानपुरका सबै पालिकामा केन्द्रबाटै प्रतिनिधि पठाउने भएको छ ।

देशभरका ७ सय ५३ वटै पालिकासँगै बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरका सबै पालिकामा केन्द्रबाटै प्रतिनिधि पठाउने भएको हो । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकामा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

सहमहामन्त्रीलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिलाई जिल्लामा पठाइने पनि उनले बताए । त्यसैगरी, स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ ।
उपसमितिहरूमा भ्रातृ संघ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय परिचालन, जिल्ला सम्पर्क समन्वय एवं परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिहरू रहेको उनले बताए ।

पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको समितिको बैठकमा चुनावी सभालाई व्यवस्थित बनाउने, आचारसंहिता पालना भए–नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको उनले बताए ।