२०८१ बैशाख २१, शुक्रबार    

प्रदेश सरकारको बजेट खर्च निराशाजनक

२०८० मंसिर १४, बिहीबार ०८:४३ बजे

बागमती प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले पहिलो चौमासिकमा ९ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको ६२ अर्ब ७० करोड १० लाख ८७ हजार रुपैयाँमध्ये चार महिनामा ५ अर्ब ७८ करोड ७१ लाख ७९ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार प्रदेश सरकारले चालु खर्चतर्फ १३.४८ प्रतिशत, पुँजीगततर्फ ६.२१ प्रतिशत बजेट खर्च गरेको छ । वित्त व्यवस्थापनतर्फ भने अहिलेसम्म बजेट खर्च भएकै छैन ।

प्रदेश सरकारका निकायहरुले चालु खर्चतर्फ ३ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ खर्च गरेका छन् भने पुँजीगततर्फ २ अर्ब २२ करोड ११ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।