२०८१ जेठ ४, शुक्रबार    

पिप्ले युवा क्लबको प्रतिद्वन्द्वी हिमालयन शेर्पा

२०७८ चैत्र ४, शुक्रबार १०:३१ बजे

सर्लाहीमा जारी राजर्षी जनक कप फुटबल प्रतियोगिताको साविक विजेता हेटौंडाको पिप्ले युवा क्लवले हिमालयन शेर्पा क्लवसँग चैत ६ गते प्रतिस्पर्धा गर्ने भएको छ ।

शेर्पाले उद्घाटन खेलमा ध्रुवतारा स्पोर्टिङ क्लव झापालाई पराजित गर्दै पिप्लेसँगको भेट पक्का गरेको हो । खेल तालिका अनुसार पिप्लेले सिधै सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । प्रतियोगितामा आयोजकसहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक वाग्मती युवा क्लव, बीएफसी चितवन, न्यूरोड टिम (एनआरटी), नवजनजागृति युवा क्लव सिमरा, नेपाल पुलिस क्लव, सुदू्रपश्चिम ११ धनगढी, मछिन्द्र फुटबल क्लव, एभेनियर फुटबल क्लव क्यामरुन र सशस्त्र प्रहरीको एपीएफ क्लव सहभागी रहेको छ ।

चैत्र १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले ५ लाख ५ सय रुपैयाासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । दोस्रो बर्ष पनि उपाधि जित्ने लक्ष्य रहेको पिप्ले युवा क्लवका अध्यक्ष सुशील घिमिरेको भनाइ छ । पिप्लेले गत बर्ष आयोजक बागमती युवा क्लवलाई टाइब्रेकरमार्फत निराश बनाउँदै उपाधि जितेको थियो । ‘डिफेण्डिङ च्याम्पियन भएकोले उच्च मनोवलका साथ हामी सहभागी हुनेछौं’, अध्यक्ष घिमिरेले भने, ‘दोस्रो वर्ष पनि उपाधि जित्ने हाम्रो लक्ष्य हुनेछ ।’ क्लवका प्रशिक्षक सुविन घिमिरेले प्रतियोगिताको लागि आवश्यक तयारी सुरु भएको जानकारी दिए ।

मकवानपुरका उत्कृष्ट खेलाडी, केही ए डिभिजनका र केही विदेशी खेलाडी समेटेर टिम बनाइने उनले बताए । ‘यस प्रतियोगिताको पाँचौ संस्करण जस्तै छैठौं संस्करण पनि जित्ने योजना हो’, प्रशिक्षक घिमिरेले थपे, ‘खेलाडी छनौट संगै प्रशिक्षण समेत अघि बढाएका छौं । राम्रो टिम बनाएर लगातार दोस्रो बर्ष पनि उपाधि रक्षा गर्ने उद्देश्य रहेको छ ।’

खेल सन्तोष श्रेष्ठ स्मृति खेल मैदान वाग्मती नगरपालिका–११ सर्लाहीमा हुनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसहित विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई समेत नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।