२०८१ बैशाख २८, शुक्रबार    

राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

२०७८ माघ ११, मंगलबार १६:५५ बजे

हेटौंडा/ राष्ट्रियसभा सदस्यअन्तर्गत् वाग्मती प्रदेशतर्फ खाली रहेको दुइ सिटका लागि बुधबार हुने मतदानको तयारी पूरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान स्थल, केन्द्र तथा सवारी पार्किङ स्थल, हेल्प डेस्क र स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिएको छ । सहायक निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलका अनुसार दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले छुट्टाछुट्टै मतदान गर्ने गरी दुईवटा मतदान केन्द्र निर्माण गरिएको हो । उनले मतदान केन्द्रमा अधिकृतसहित ८–८ जना गरी १६ जना कर्मचारी खटाइने भएको छ ।

मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक/फरक रहेको छ । कोभिड–१९ महामारीको कारणले गर्दा स्वास्थ्य सुरक्षामा केही चुनौती देखिएपनि यसको व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाएका पोखरेलले बताए । मतदाताहरुले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने, कोरोना संक्रमित भए वा लक्षण देखिएका मतदातालाई छुट्टै मतदान गर्ने गरी व्यवस्थापन गरिएको छ । मतदान स्थलामा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हेल्पडेस्कसहित २ जना स्वास्थ्यकर्मी राख्ने भएको छ ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार विहान ९ बजेबाट सुरु भएर दिउँसो ३ बजे मतदान प्रक्रिया टुंगिनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतीजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।

मतदान केन्द्रको मुख्यमन्त्री राजेन्द्र पाण्डे, मन्त्री, मुख्य सचेतक दीपक निरौला, प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहितको टोलीले अनुगमन गरेको थियो ।

राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहेका छन् ।