२०८१ बैशाख १६, आईतबार    

देश र जनताको नाममा शपथ लिँदै मकवानपुरबाट पहिलोपटक दुई जनाले लिए गैरआवासीय नेपाली नागरिकता

२०८० कार्तिक १५, बुधबार १७:०७ बजे

मकवानपुर जिल्लाबाट पहिलो पटक दुई जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइले हेटौंडा–११ की सन्जिता बिडारी र हेटौंडा–५ का श्रीकृष्ण थापालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका हुन् ।

१५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दे आएका थापा र बिडारी श्रीमान्-श्रीमती हुन् । थापा दम्पतीले मकवानपुर जिल्लाबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता पाएका हुन् । नागरिकता प्राप्त गरेपछि उनीहरूले देश र जनताको नाममा शपथ लिएका थिए । 

गैरआवासीय नेपाली नागरिकता पाएपछि उनीहरुले खुसी व्यक्त गरेका छन् । ‘दु:ख, सुखको क्षणबाट गुज्रिएपछि विदेशको नागरिकता लिए पनि अहिले फेरि नेपालको नागरिकता लिन पाउँदा हामीलाई एकदमै खुशी लागेको छ । यसले हामीलाई विदेशमा रहेर पनि नेपालको जुन माया छ त्यसलाई अझ प्रगाढ बनाएर जान्छ भन्ने विश्वास लिएको छु,’ नागरिकता लिएपछि श्रीकृष्ण थापाले भने, ‘ साथै देशलाई पनि यसले आर्थिक रुपमा धेरै नै फाइदा गर्नेछ । किन भने हामीहरु आएर लगानी गर्ने वातावरण खुलेको छ । हामीसँग यहाँ भएको सम्पत्ति बेचेर जानु पर्ने अवस्था पनि हुनेछैन । यसलाई राम्रो कदमको रुपमा लिएका छौँ ।’

गत जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐन अनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको थियो ।