२०८१ बैशाख १४, शुक्रबार    

शिक्षकलाई भट्टी र मालपोत नधाउन उपमेयरको आग्रह

२०७९ आश्विन ९, आईतबार १७:०८ बजे

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शिक्षकलाई भट्टी र मालपोत कार्यालय नधाउन आग्रह गरेका छन् । हेटौंडा–३ का सामुदायिक विद्यालयमा नि:शुल्क अंग्रेजी माध्यममा शिक्षाको घोषणा कार्यक्रमको उद्घाटन गर्दै उपमेयर बानियाँले यस्तो आग्रह गरेका हुन् ।

‘शिक्षक भनेको समाज रुपमान्तरणको ऐन हो । शिक्षकहरु भट्टी र मालपोत कार्यालय धाउँदा समाजमा नकारात्मक सन्देश प्रवाह भयो । त्यसैले यसलाई रोक्न जरुरी छ ।’, उपमेयर बानियाँले नेपालको भविष्य निर्धारण गर्ने महत्वपूर्ण जिम्मेवारी शिक्षकको काँधमा रहेको बताउँदै सवै शिक्षकमा यस्तो समस्या नरहेको पनि बताए । ‘केही शिक्षकले गर्दा समाजमा असर परिरहेको छ । उहाँहरुले आफ्नो बानी सुधार्न जरुरी छ ।’, उनले भने, ‘अबको नेपाल कस्तो बनाउने त्यो शिक्षकको हातमा छ । त्यसैले शिक्षकले आफ्नो आचरणमा सुधार ल्याउन जरुरी छ ।’

हेटौंडा उपमहानगरपालिकाले आफ्नो पहिलो प्राथमिकतामा शिक्षा क्षेत्रलाई समावेश गरेको बताए । ‘हामीले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर समावेश गरेका छौं । हामी उपमहानगरको शिक्षा क्षेत्र सुधारका लागि आवश्यक काम गर्न तयार छौं ।’, उपमेयर बानियाँले प्राविधिक शिक्षामा भित्र्याउनेतर्फ उपमहानगरले काम गरिरहेको बताए । ‘हामी हेटौंडामै प्राविधिक शिक्षा पढ्ने व्यवस्था मिलाउँदै छौं । अब प्राविधिक पढ्नका लागि छिमेकी जिल्ला धाउनुपर्दैन ।’, उनले थपे ।