२०८१ बैशाख ३०, आईतबार    

शौचालय जाँदा छिमेकीले बलात्कार गरेको आरोप

२०७८ चैत्र ८, मंगलबार १६:१३ बजे

रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित खेतमा शौच गर्न गएकी एक महिलालाई सोमबार राति छिमेकीले नै बलात्कार गरेको खुलासा भएको छ ।

दुई छोराछोरीकी आमा बलात्कारको सिकार भएको भन्दै प्रहरीकहाँ उजुरी दिएकी छन् । फतुवा विजयपुर नगरपालिका २ सीतलपुर घर भएकी महिलाले खेतमा शौच गर्न गएको बेला स्थानीय युवकले बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् ।

इलाका प्रहरी कार्यालय लक्ष्मिनियाका अनुसार छिमेकी २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको खुलासा भएको छ । पीडित महिला चिच्यउन थालेपछि पटेलले शरीरका विभिन्न स्थानमा टोकेर घाइते बनाएको समेत प्रहरीको अनुसन्धानमा खुलेको छ ।

त्यसपछि पटेल घर छाडेर भागेको प्रहरीले जनाएको छ । इलाका प्रहरीका सई रामनारायण यादवले घटनामा संलग्न पटेलको खोजी भइरहेको बताए । ‘पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि सदरमुकाम गौर पठाएका छौं,’ उनले भने, ‘राति नै फरार भएका पटेलबारे अनुसन्धान भइरहेको छ । चाँडै पक्राउ गर्नेछौं ।’