२०८१ बैशाख २६, बुधबार    

शालिकराम जम्मकट्टेल : मजदुरदेखि मुख्यमन्त्रीसम्म

२०७९ पौष २५, सोमबार १७:५५ बजे

सशस्त्र विद्रोह अन्त्य गर्दै शान्ति सम्झौता मार्फत् मुलधारको राजनीतिमा आएपछि तत्कालीन नेकपा माओवादीमा मजदुर नेताको रूपमा आफ्नो परिचय बनाएका व्यक्ति हुन्- शालिकराम जम्म्कट्टेल । उनै जम्मकट्टेल वाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा सोमबार नियुक्त भएका छन् ।

नेकपा एमाले, राप्रपाको सहयोगमा माओवादी केन्द्र संसदीय दलका नेता रहेका जम्मकट्टेल दोस्रो प्रयासमा मुख्यमन्त्री भएका हुन् । उनी प्रदेशसभाको अघिल्लो कार्यकालमा माओवादी केन्द्रबाट संसदीय दलका नेता थिए । उनले तत्कालीन नेकपा विभाजनपश्चात् मुख्यमन्त्रीको रुपमा आफूलाई लबिङ गरे पनि सफल भएका थिएनन् । त्यसबेला वाग्मतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिइएको थियो । चुनावपछि पुरानो गठबन्धन भत्केर केन्द्रमा एमाले र माओवादी मिलेपछि यसपटक जम्कट्टेललाई मुख्यमन्त्री बन्ने अवसर आइपुगेको हो ।

२०३० साल भदौमा धादिङको साविकको किराञ्चोक गाविस–९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं धादिङ जिल्ला इञ्चार्ज हुन् । उनको परिवारमा एक छोरी र पत्नी छिन् ।

आदर्श मावि गजुरीबाट एसएलसी पास गरेका जम्मकट्टेलले बीए र बीएलसम्मको अध्ययन गरेका छन् । २०४४ सालमा अखिल छैटौं हुँदै विद्यार्थी राजनीति सुरु गरेका उनी २०४८ मा औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य सहित केन्द्रीय कोषाध्यक्षसम्म बने । उनी २०४७ सालमा ललितपुरको काभ्रे आइरन उद्योगमा मजदुरका रूपमा काम गर्थे । सोही समयबाट उनी मजदुर संगठनमा संगठित भएका हुन् । मजदुरको क्षेत्रमा लागू भएको सामाजिक सुरक्षा, श्रम ऐन र न्यूनतम वेतन लागू हुनुमा उनीसहितका मजदुरहरूको भूमिका छ ।

माओवादी सशस्त्र विद्रोह सुरु भएपछि उनी निरन्तर पार्टीमा क्रियाशील रहे । २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका जम्कट्टेलले २०६३ सालमा अन्तरिम विधायकका रूपमा संसदीय यात्राको सुरुवात गरेका थिए ।

२०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट तत्कालीन एमाले नेता राजेन्द्र पाण्डेलाई पराजित गर्दै उनी राष्ट्रिय राजनीतिमा उदाएका थिए । उनी २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनै पाण्डेसँग पराजित भएका थिए । ०७४ मा भने जम्कट्टेलले वाम गठबन्धनका उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रेर कांग्रेसका प्रभातकिरण सुवेदीलाई पराजित गरेका थिए ।

गत मंसिर ४ मा सम्पन्न प्रदेशसभाको दोस्रो निर्वाचनमा जमकट्टेल कांग्रेस र माओवादीसहितको तत्कालीन सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा पुनः धादिङ १ को प्रदेश २ बाट विजयी भए।

उनीसँग वाग्मती प्रदेशसभामा सबैभन्दा लामो समय मन्त्री हुने सांसद हुन् । उनले डोरमणि पौडेल मुख्यमन्त्री हुँदा ४२ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका थिए । राजेन्द्र पाण्डे मुख्यमन्त्री भएपछि १५ महिनादेखि उनी आर्थिक मामिला तथा योजना मन्त्री थिए ।अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा जम्मकट्टेल तीन महिना सत्ता बाहिर बसेका थिए ।

उनी वित्तीय संघीयता र प्रादेशिक संरचनाका जानकार हुन् । सत्तामै रहँदा मुख्यमन्त्रीसँग व्यापक मतभेद राख्ने उनले आगामी दिनमा प्रदेशलाई कसरी अगाडि बढाउनेछन् त्यो हेर्न बाँकी नै छ । सदनलाई बिजनेस दिने तथा संघीय सरकारसँग रहेको मतभेद हटाउने जिम्मेवारी पनि अब उनको काँधमा आएको छ ।