२०८१ बैशाख १३, बिहीबार    

सालकलाई ‘गौरवको प्राणी’ घोषणा गर्दै मकवानपुर

२०७९ फाल्गुन ५, शुक्रबार १९:०५ बजे

गैँडाका लागि चितवन‚ बाघका लागि बर्दिया परिचित छ भने मकवानपुरलाई सालक (प्यांगोलिन) का लागि परिचित जिल्ला बनाउनका लागि अभियान सञ्चालन गरिएको छ । सालकको संरक्षण अभियान सञ्चालन गर्दै जिल्लाकै ‘गौरवको प्राणी’ घोषणा गर्ने तयारी गरिएको हो ।

जिल्लाको सबै क्षेत्रमा पाइने शान्त एवं लजालु स्वभावको स्तनधारी जनावर सालकलाई जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय राप्ती‚ मकवानपुर र जिल्ला वन कार्यालय हेटौँडाले जिल्लाको गौरवको प्राणी घोषणा गर्न लागेका हुन् ।

सालकको संरक्षणका साथै गौरवको प्राणी घोषणा गर्ने उद्देश्यले बिहीबार हेटौँडामा सालक संरक्षणमा समुदायको भूमिकासँग सम्बन्धित सरोकारवालाहरूबीच छलफल गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का संरक्षण अधिकृत अम्बिका खतिवडाले सालक मुख्यगरी कृषकहरूको मित्र हुनुका साथै दुर्लभ वन्यजन्तुसमेत भएको बताए । सालकको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा बिहीबारदेखि शनिबारसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ ।

दुर्लभ वन्यजन्तु सालक जोखिममा परेकाले संसारभर फेब्रुअरी महिनाको तेस्रो शनिबार सालक दिवस मनाउने गरिन्छ । यसै दिन पारेर आगामी फागुन ६ गते स्थानीय तहहरूको व्यवस्थापकीय सहयोगमा सालकलाई जिल्लाकै गौरवको प्राणी घोषणा गर्न लागिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

संसारमै दुर्लभ मानिएका ८ प्रजातिका सालकमध्ये नेपालमा कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक आईयूसीएनको अति संकटापन्न सूचीमा रहेको छ । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको यो सालक मकवानपुर जिल्लामा पाइने सरोकारवालाहरूले बताएका छन् । त्यसैले अर्को पुस्ताले पनि सालक देख्न पाओस् भनेर यसको संरक्षणका लागि जिल्लाकै गौरवको प्राणीका रुपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताए ।

पछिल्लो समय सालकको तस्करी हुन थालेको छ । जसले गर्दा सालकहरु झन् जोखिममा परेका छन् ।तस्करीले मात्र होइन साँघुरिँदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको बासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण एवं प्राकृतिक आहाराको कमी हुँदै जानुले सालक झन् लोपोन्मुख अवस्थामा पुगेको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए । मकवानपुरमा रहेका चार सयवटा सामुदायिक वनमध्ये सयवटा सामुदायिक वनमा सालक फेला परेको डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख शिव सापकोटाले बताए ।

मकवानपुरमा विगत १७ वर्षदेखि हेटौँडा उपमहानगरपालिका ६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समितिले सालक संरक्षण गर्दै आएको छ । समितिले सालक भएको क्षेत्रमा मानवीय गतिविधिलाई निषेध गर्नुका साथै सालकको संरक्षण गर्दै आएको छ । विभिन्न स्थानमा फेला परेका सालकहरू संरक्षणका लागि रानी सामुदायिक वनमा ल्याएर छाड्ने गरिएको छ ।

रानी सामुदायिक वनमा अहिले ५ दर्जनभन्दा बढी सालकहरू रहेको सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । अन्यत्रबाट सालक ल्याएर बुझाउनेलाई रानी सामुदायिक वनले सम्बन्धित व्यक्तिलाई प्रमाण नगद पुरस्कार पनि दिने व्यवस्था गरेको छ । उक्त सामुदायिक वनमा बिरामी सालकलाई उपचार गर्नका लागि पनि केज बनाइएको छ । उक्त सामुदायिक वन समूहले मात्र संरक्षण गर्दै आएको सालकको अब जिल्लाको सबै क्षेत्रले संरक्षण अभियान चलाउने डिभिजन वन कार्यालयका प्रमुख आचार्यले बताए ।

‘सालकको संरक्षणको अवस्था, बासस्थान, पारिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने, सालकको अवैध चोरी, सिकारी तथा व्यापार नियन्त्रण गर्ने, बासस्थानको संरक्षणका लागि खोजी एवं व्यवस्थापन गर्ने, स्थानीय जनताको उत्तरदायित्वको वृद्धि गर्नेजस्ता कार्यहरू अगाडि बढाउने योजना रहेको छ‚’ उनले भने । सालकलाई जिल्लाकै गौरवको प्राणी घोषणापश्चात यसको संरक्षणमा तीव्रता आउने दाबी गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । यो वन्यजन्तुले घमाइलो र जुका नलाग्ने ठाउँमा बासस्थान बनाउने विज्ञहरू बताउँछन् । समुद्र सतहबाट करिब दुई हजार मिटरसम्मको उचाईसम्ममा सालक पाइने ग्रिनहुडका अनुसन्धानकर्ता कुमार पौडेल बताउँछन् ।

झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा कत्ला (खबटा) हुन्छ । सालकको पेट, मुख र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खबटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रूखको हागामा झुन्डिन सक्ने विज्ञहरू बताउँछन् । सालकको दाँत नभए पनि यसले ६० देखि ७० सेन्टिमिटरसम्म फैलन सक्ने जिब्रोको सहायताले किरा/कमिलालगायत जीवहरू खान सक्छ ।

माटोसँग मिल्दोजुल्दो रंग हुने सालक आहाराको खोजीमा रातमा मात्र निस्कने विज्ञहरू बताउँछन् । खतराबाट बच्नका लागि भकुन्डोको आकारमा मुख केन्द्रमा पारेर गुजुल्टिएर बस्‍ने यो जीवको माग चीन, भियतनाममा औषधि बनाउन र मासु उत्पादनका लागि हुने भएकाले चोरी सिकारीसमेत हुने गरेको छ ।

यसको शरीरमा हुने खबटा बुलेट-प्रुफ ज्याकेट तथा उच्च कोटीको टाँक बनाउन र महँगा सौन्दर्यका सामग्री बनाउन प्रयोग हुने गरेको पौडेलले बताए ।

किसानको साथी मानिने सालकले एक दिनमा दुई लाख ३० हजार र वर्षमा करिब सात करोडसम्म कमिला र धमिरा खाने उनले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक मार्ने, खरिदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।