२०८१ बैशाख १३, बिहीबार    

बजेट ल्याउँदै प्रदेश सरकार

२०७९ असार १, बुधबार १४:३९ बजे

वाग्मती प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट बुधबार दिउँसो ४ बजे सदनमा पेश गर्दैछ । सरकारले नजिकिँदै गरेको संघीय र प्रादेशिक चुनावलाई लक्षित गरेर ठूलो आकारको बजेट ल्याउने लागेको छ ।

चालु आर्थिक वर्षको तुलनामा १० अर्बभन्दा बढाएर बजेट ल्याउने तयारीमा प्रदेश सरकार रहेको छ । चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशले ल्याएको थियो । ‘७० अर्बसम्म पनि बजेटको आकार पुग्नसक्छ । अझै पनि योजना थपघट भइरहेका छन् ।’, मन्त्रालयका एक कर्मचारीले भने । प्रदेश सरकारले जेठ १६ गते नीति तथा कार्यक्रममा समेटिएको विषय र केही योजना थप गरी बजेट ल्याउन लागेको हो । चालु आवमा पनि एमाले नेतृत्वको सरकारले गतआव ०७७/०७८ मा भन्दा ६ अर्ब बढाएर बजेट ल्याएको थियो ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार अर्थात् ४५ प्रतिशत र पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार ५१ प्रतिशत बजेट ल्याइएको थियो । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजवाद उन्मुख कार्यक्रम समेटर नयाँ बजेट गतवर्षको तुलनामा १० भन्दा बढी थपेर आउने विभिन्न सार्वजनिक कार्यक्रममै बताइसकेका छन् ।

प्रदेश सरकारलाई केन्द्रबाट प्राप्त गर्ने अनुदान बढेको, चालु आर्थिक वर्षको बजेट खर्च असाध्यै कमजोर रहेको, सरोकारवाला पक्षबाट ५ प्रतिशतभन्दा बढी बजेट बढाउन सक्ने सुझाव सरकारलाई दिएका कारण पनि बजेटको आकार बढ्ने भएको हो । यसवर्ष सांसदलाई बजेट नबाँडिने स्रोतले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सांसदको तजविजमा खर्च गर्ने गरी प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

आगामी वर्षको बजेटमा नीति तथा योजना आयोगबाट सिफारिस भएको योजनालाई पनि समेट्ने जनाइएको छ । ‘प्रदेश नीति आयोगले तयार गरेको योजनामा अघिल्लो सरकारले बजेट विनियोजन गरेको थिएन । हामीले गर्दैछौं । हामी दश लाखभन्दा तलको योजना नबनाउने पक्षमा रहेका छौं । सोही अनुसार छलफल पनि भइरहेको छ ।’, उनले भने ।

प्रदेशमा साढे ३ वर्ष एमाले नेतृत्वको सरकार बर्हिगमनसँगै बनेको गठबन्धन सरकारले ल्याउने बजेटप्रति सबैको चासो छ । तत्कालीन एमाले सरकारले ल्याएको वजेट खर्च निराशाजनक छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलका अनुसार यस पटक विशेषगरी शिक्षा र स्वास्थ्यलाई जोड दिएर बजेट ल्याइने बताए । ‘पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यलाई जोड दिएर बजेट ल्याउने छौं । कृषि, प्रादेशिक संरचना निर्माण, पर्यटन र उर्जालाई पनि प्राथमिकतामा राखिनेछ ।’ उनले खर्च गर्न सक्ने गरी बजेट ल्याइने दावी गरे ।