मकवानपुर प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरेको विशेष चेकिङ तथा खानतलासी अभियानका क्रममा लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जेठ १४ देखि १७ गतेसम्म पक्राउ परेकाहरूको साथबाट ३५ ग्राम ९१० मिलिग्राम खैरोहेरोइन जस्तो देखिने पदार्थ, २६० मिलिग्राम चरेश, २३ ग्राम २१० मिलिग्राम गाँजा तथा ट्रामाडोल २ क्याप्सुल बरामद गरिएको छ ।
प्रहरीले बारा कलैया उपमहानगरपालिका–१४ का ३० वर्षीय राजन जैसवाल, निजगढ नगरपालिका–१ का २१ वर्षीय सर्जुक साह र रौतहट बौधीमाई नगरपालिका–२ का २१ वर्षीय रोहित पटेललाई ३४ ग्राम ७१० मिलिग्राम खैरोहेरोइनसहित पक्राउ गरेको जनाएको छ ।
भारत घर भई हाल हेटौँडा–४ बस्ने २३ वर्षीय आकाश कुमार, हेटौँडा–७ का २४ वर्षीय राज अधिकारी, हेटौँडा–११ का ३३ वर्षीय राजा बाबु शर्मा र बकैया गाउँपालिका–४ का ३४ वर्षीय समिर स्याङतानलाई २१ ग्राम ३७० मिलिग्राम गाँजा र २ क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी हेटौँडा–१ का ४४ वर्षीय सहदेव अर्जेल, ३० वर्षीय कालुराम गिरी, ३९ वर्षीय मनोज महर्जन तथा हेटौँडा–१७ का ३६ वर्षीय रामचन्द्र मोक्तानलाई २२० मिलिग्राम खैरोहेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हेटौँडा–८ की २३ वर्षीया अनुष्का क्षेत्री र चितवन भरतपुर महानगरपालिका–८ का २६ वर्षीय करण स्याङ्बोलाई २६० मिलिग्राम चरेश र १ ग्राम ८४० मिलिग्राम गाँजासहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीका अनुसार शंकास्पद व्यक्तिहरूमाथि रीतपूर्वक खानतलासी गर्दा लागूऔषध फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।