२०८१ बैशाख १७, सोमबार    

एलन मस्कभन्दा रूसी राष्ट्रपति पुटिन धनी

२०७८ चैत्र १३, आईतबार १०:४१ बजे

पाईं हामी सबैलाई थाहा भएको कुरो हो, संसारका धनाढ्य व्यक्ति एलन मस्क हुन् । तर हालैको एक अन्तर्वार्तामा मस्कले आफूलाई पहिलो नम्बरमा राखेनन् । उनले आफूभन्दा पनि धनी व्यक्तिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मानेका छन् ।

गत वर्ष अमेजन मालिक जेफ बेजोसलाई पछि पार्दै एकछत्र धनीको सूचीमा माथि रहेका मस्कले भने सर्वाधिक धनीको उपाधि पुटिनलाई दिए । ‘२६० अर्ब डलर नेट वर्थ (सम्पत्ति) का साथ पृथ्वीकै धनी हुन पाउँदा तपाईंलाई कस्तो लागेको छ ?’ इन्साइडरको मुख्य कम्पनी एक्सेल स्प्रिङरका सीईओ म्याथियास डोफनरले एलन मस्कसँग अन्तर्वार्ताको क्रममा सोधे ।

जवाफमा मस्कले भने, ‘मलाई लाग्छ कि पुटिन म भन्दा धेरै धनी छन् ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशाल सम्पत्ति एउटा रहस्य नै बनेको छ, किनकि उनको कति सम्पत्ति छ र कहाँ-कहाँ छ, त्यसको यकिन जानकारी कसैलाई थाहा छैन । उनको सम्पत्तिबारे बेलाबेला विभिन्न रहस्य सुन्न पाइन्छ ।

पुटिनलाई ‘ब्ल्याक सी’ मा रहेको १.४ अर्ब डलर मूल्यको दरबार र ४० लाख डलरको मोनाको अपार्टमेन्टसँग जोड्ने गरिन्छ । कतिपयले पुटिनले २०० अर्ब डलर बढीको सम्पत्ति अवैध रुपमै कमाएको चर्चा पनि गर्छन् । तर यसबारे यकिन जानकारी कसैले दिन सकेका छैनन् ।

राष्ट्रपतिको रूपमा उनले वार्षिक तलब एक लाख ४० हजार डलर कमाउने दाबी गरिएको छ । त्यस्तै सार्वजनिक रूपमा खुलासा गरिएको उनको सम्पत्तिमा ८०० वर्ग फुटको अपार्टमेन्ट, एउटा ट्रेलर र तीनवटा कार समावेश छन् । तर केही विज्ञका अनुसार पुटिनको अदृश्य सम्पत्ति धेरै छ, जसबारे खोजी कमै भएको छ । पुटिन “ब्ल्याक सी’ मा रहेको १,९०,००० वर्ग फुटको दरबारको मालिक भएको अफवाह छ । यो तटीय सम्पत्ति देशको सबैभन्दा ठूलो निजी निवासको रूपमा प्रतिष्ठित छ, जुन पुटिनको निजी दरबार भएको चर्चा गरिन्छ ।

तर क्रेमलिनले दरबारमा पुटिनको स्वामित्वलाई अस्वीकार गर्दै यो एक धनी व्यापारीको हो भन्ने प्रतिक्रिया दिएको छ । तर रुसी विश्लेषकहरूले यसलाई ठूलो झुट भनिरहेका छन् । त्यस्तै पुटिनसँग ५८ वटा विमान र हेलिकप्टर बाहेक अन्य १९ घर र ७०० कार रहेको दावी गरिएको छ, जसमा ७१६ मिलियन डलरको ‘द फ्लाइङ क्रेमलिन’ नामको विमान पनि छ, जसको ट्वाइलेट सुनले बनेको बताइन्छ ।

साथै उनीसँग रुसी नौसेनाको आणविक पनडुब्बी निर्माताद्वारा डिजाइन गरिएको १०० मिलियन डलरको मेगायाट पनि भएकाे चर्चा गरिन्छ । यिनै चर्चा र रहस्यका कारण एलन मस्कले आफूभन्दा पनि धनी व्यक्तिमा पुटिनलाई राखेका हुनसक्छन् । तर पुटिनले आफ्नो सम्पत्तिबारे लागेका आरोपलाई अस्वीकार गर्ने गर्छन् र केवल धनको फरक रूपलाई स्वीकार गर्छन् ।

‘म युरोपको मात्र होइन, सारा संसारको सबैभन्दा धनी मानिस हुँ । म भावनाहरू सङ्कलन गर्छु । म धनी छु कि, रुसका जनताले मलाई दुई पटक रुस जस्तो महान् राष्ट्रको नेतृत्व सुम्पेका छन् । म विश्वास गर्छु कि यो नै सबैभन्दा ठूलो सम्पत्ति हो,’ उनले भनेका छन् ।