२०८१ बैशाख १५, शनिबार    

वाग्मती प्रदेश बाट मिटरब्याजीविरुद्ध ३५८ उजुरी

२०७९ भाद्र ६, सोमबार १४:४१ बजे

चर्को व्याजमा ऋण दिएर बिचल्ली बनाएको भन्दै देशभरबाट १८ सय ३२ उजुरी परेको छ । गृह मन्त्रालयले गठन गरेको कार्यदलमा सोमबारसम्म परेको उजुरीमा सबैभन्दा बढी मधेस प्रदेशका छन् । मधेसपछि वाग्मती प्रदेशको ३५८ उजुरी परेको छ ।

साहुले चर्को व्याजमा ऋण दिने र नतिरेको भन्दै घर र जग्गा नै हडपेपछि पीडितले काठमाडौँको माइतीघर मण्डलामा आएर पटक पटक प्रदर्शन गरेपछि सरकारले गृह मन्त्रालयका सह–सचिव भीष्मकुमार भुसालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले देशभरबाट मिटर ब्याज पीडितलाई उजुरी दिन आह्वान गरेको थियो ।

कार्यदलले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी सङ्कलन गरेको थियो । तर अझै केही जिल्लाबाट विवरण आउन बाँकी छ ।

कार्यदलले आइतबारसम्म मिटरब्याजीबारे उजुरी दिन समयसीमा तोकेको थियो । कार्यदलले सोमबार अपराह्न ४ बजेका लागि बैठक राखेको छ । सबैभन्दा प्रभावित गाउँमा गएर स्थलगत अध्ययन र छानबिन पनि गर्ने कार्यदलको तयारी छ ।