२०८१ बैशाख १७, सोमबार    

निर्माण व्यवसायी संघको २४ औं साधारणसभा सम्पन्न

२०८० माघ २०, शनिबार १८:५१ बजे

निर्माण व्यवसायी संघ मकवानपुर २४ औं वार्षिक साधारणसभा हेटौंडामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन् निर्माण व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले गरेका थिए ।

उनले समृद्धिको सम्बाहकको रुपमा रहेको निर्माण व्यवसायीलाई राज्यले वेवास्ता गरेको आरोप लगाए । उनले सार्वजनिक खरिद नियमावली संशोधनका लागि लामो समयदेखि निर्माण व्यवसायीले सरकार समक्ष आग्रह गरिरहेको बताए । ‘सार्वजनिक खरिद नियमावलीको १३ संशोधन अझै आएको छैन । म्याद थपसँगै सरकारको आदेशलाई कर्मचारीले पालना नगरेको र त्यसको सिकार निर्माण व्यवसायी भएको दावी गरे ।

‘ सार्वजनिक खरिद ऐन पूर्वाधार निर्माण मैत्री हुनुपर्छ । निर्माण क्षेत्रको मूल समस्या लो बिड हो ।’, उनले समयमा काम नगर्ने र गुणस्तरीय काम नगर्नेको साथमा आफूहरुनरहेको प्रष्ट्याए । ‘सरकारले स्रोत सुनिश्चित नभएको योजनाका कारण हामी समस्यामा छौं ।’, उनले भने ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले निर्माण व्यवसायीबाट भएको कमजोरी हटाउनु पर्ने बताए । उनले निर्माण क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा, बिलोमा ठेक्का हाल्ने, स्रोतको सुनिश्चितता नहुने जस्ता समस्या रहेको औंल्याए ।

कार्यक्रममा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष इञ्जिनियर आङदोर्जे लामाले निर्माण पेशा कठिन पेशा रहेको औंल्याए । संघका अध्यक्ष बालगोपाल कंडेलको सभाध्यक्षतामा भएको सभामा महासंघ महासचिव रोशन दाहाल, वाग्मती प्रदेश अध्यक्ष सुमित श्रेष्ठ, संघका पूर्वअध्यक्ष आनन्दराम पराजुली, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, कैलाश गाउापालिकाका उपाध्यक्ष बालकुमार मल्ल, हेटौंडा उपमहानगरपालिकाका वडा १ अध्यक्ष सविन न्यौपाने लगायतले आफ्नो भनाइ राखेका थिए ।

सभामा विभिन्न विधामा निर्माण व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो ।