२०८१ बैशाख १६, आईतबार    

रमेश र कल्पनाको दोहोरीमा नाच्यो मकवानपुर

२०८० पौष ८, आईतबार १९:१८ बजे

चर्चित लोक गायक गायिका रमेश प्रसाईं र कल्पना दाहालको प्रश्तुतीमा मकवानपुरका दर्शकले नाचेर साथ दिएका छन् ।

हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा आइतबार प्रसाईं र दाहालको विशेष लोक दोहारी रहेको थियो । उनीहरुको दोहोरीमा महोत्सवका दर्शकहरुले नाचेर साथ दिएका थिए । दोहारीसँगै चर्चित गायिका अस्मिता अधिकारीले समेत आफ्ना लोकप्रिय गीतहरु गाएकी थिइन् ।

उनको गीत लोली मिलाउँदै दर्शकले नाच्दै र गाउँदै गरेका थिए । यस्तै जादुगर बलराम सरकारको जादुले समेत सबैको ध्यान खिचेको थियो ।

महोत्सवमा सोमबार चर्चित गायक प्रमोद खरेल, गायिका सहिमा श्रेष्ठ, गायक असिमराज कटुवाल र जादुगर बलराम सरकारको प्रश्तुती रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिती बढ्दो क्रममा रहेको छ । महोत्सवमा खेलकुदका प्रतियोगिताहरु पनि सञ्चालन भैरहेको छ । १७ गतेसम्म सञ्चालन हुनेमा महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुनेछ ।

महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सवमा उपस्थित हुनका लागि जिल्लाबासीहरुलाई अनुरोध गरेका छन् । महोत्सवमा करिब २६० वटा विभिन्न स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान रहेको छ ।

महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।