२०८१ बैशाख २०, बिहीबार    

एमालेले आज पनि संसदमा विरोध जारी राख्ने

२०७८ फाल्गुन ४, बुधबार ११:०२ बजे

नेकपा एमालेले आज बस्ने भनिएको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ ।

एमालले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुन जनाएको छ । विहान करिब साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने बताए । भट्टराईले भने, ‘हामीले उठाउँदै आएको विषय सभामुखले सम्बोधन नगरेका कारण कार्यव्यवस्थामा उपस्थित हुनु र नहुनुको अर्थ छैन । यसअघि पटकपटक गएर ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएकाले आज जाँदैनौं ।’

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।