२०८१ जेठ ४, शुक्रबार    

‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानका लागि मकवानपुरमा तोकिए घिमिरे

२०७८ फाल्गुन २५, बुधबार १४:३६ बजे

हेटौंडा/नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान अन्तर्गत मकवानपुरमा केन्द्रीय प्रतिनिधि तोकेको छ ।

काँग्रेस केन्द्रीय समितिले सार्वजनिक गरेको नामावलीअनुसार मकवानपुरमा गुरुराज घिमिरेलाई तोकिएको हो । घिमिरेले केन्द्रको निर्देशन अनुसार मकवानपुरका सबै १० वटै स्थानीय तहमा जिल्ला समितिलाई समेटेर अभियान संचालन गर्नेछन् । मकवानपुरसँगै ७७ वटै जिल्लाका लागि प्रतिनिधि तोकिएको हो । अभियान २९ चैत्रसम्म चल्नेछ । मंगलबार सभापति शेरबहादुर देउवाले केन्द्रबाट खटिने प्रतिनिधिहरुको बैठक राखेर केन्द्रीय तहदेखि पालिकासम्मको जिम्मेवारी बाँडफाँडसहित निर्देशनसमेत दिएका थिए ।

सह–महामन्त्री बद्री पाण्डेका अनुसार सभापति देउवाले केन्द्रिय प्रतिनिधिहरुलाई निर्देशन दिएका हुन् । ‘सभापतिले निर्वाचन अभियान अन्तर्गत केन्द्रबाट जिल्ला जाने प्रतिनिधिहरुलाई बोलाएर निर्वाचन केन्द्रीत हुन निर्देशन दिनुभएको हो,’ उनले भने, ‘अभियान अन्तर्गत प्रत्येक जिल्लामा एक जना केन्द्रीय सदस्यलाई प्रतिनीधिको रुपमा खटाइएको छ ।’ पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति देउवाले स्थानीय तहको जिम्मेवारीबारे ब्रिफिङ गरेका थिए ।

बैठकले प्रदेश, जिल्ला र पालिका कार्यसमितिको भूमिकासमेत स्पष्ट पार्दै काँग्रेसको पक्षमा माहौल तयार पार्न निर्देशन दिएको छ । बैठकले भातृ तथा शुभेच्छुक संस्थाको जिम्मेवारीसमेत तोकेर वडा र पालिका स्तरमा हुने कार्यक्रमहरु तयार गरिएको छ ।