२०८१ चैत्र ७, बिहीबार    

चन्द्रागिरी-थानकोट सडक एक महिनालाई बन्द

२०८१ पौष ५, शुक्रबार ११:२६ बजे

काठमाडौं-हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड  आइतबारबाट एक महिनाका लागि बन्द हुने भएको छ ।

उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्ने भएकाले  एक महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि पुस ७ गते अर्थात् आइतबारदेखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको छ । उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।

‘यस कार्यालयअन्तर्गत थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्मको सडकखण्ड पुस ७ गतेदेखि माघ ६ गते सम्म पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न हुन जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।

सडक विभागले उक्त सडक बन्द गर्ने सुचना जारी गरेपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सडक सुधारको नाममा विश्वविद्यालयको पठनपाठनमै असर पर्ने जनाएको छ ।

विश्वविद्यालयका अध्यक्ष प्राध्यापक राजेन्द्रध्वज जोशीले सडक विभागका कारण यस विश्वविद्यालयको शैक्षिक तालिका (क्यालेन्डर) कार्यान्वयन गर्न कठिनाई हुने बताए । चित्लाङवासी र उक्त क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुको ख्याल नै नगरी २४ सै घन्टा सडक बन्द गर्दा नागरिक र शैक्षिक संस्थाहरुले थप समष्या भोग्नु पर्नु पर्ने अवस्था बनेको उनले बताए ।

चित्लाङमा संचालित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा ५ वटा विषयमा २५ जना विद्यार्थीले विद्यावारिधि (पीएचडी) अध्ययन गरिहेका छन् ।