२०८१ जेठ १, मंगलबार    

कोरोना संक्रमितको हेटौंडा अस्पतालमै सुत्केरी

२०७८ माघ १६, आईतबार १२:१७ बजे

हेटौंडा/ हेटौंडा अस्पतालको क्षमता र गुणस्तर सेवा पनि बढ्दै गएको छ । अस्पतालले संक्रमित गर्भवतीलाई सुरक्षित ढंगले सुत्केरी गराउन थालेको छ । यसअघि कोरोना संक्रमित गर्भवतीलाई भरतपुर र वीरगन्ज पठाउने गरिएको थियो ।

अस्पतालले माघ १ देखि संक्रमित गर्भवतीलाई अस्पतालमै सुरक्षित ढंगले सुत्केरी गराउन थालिएको अस्पतालका कोभिड विभागका फोकल पर्सन प्रशान्त बिडारीले बताए । उनले यस अवधिमा २० जना संक्रमित गर्भवतीलाई सुत्केरी गराइसकेको जनाए । ‘संक्रमण पुष्टि भएकी गर्भवतीलाई सुत्केरी गराउन अलग्गै कोठा, स्वास्थ्यकर्मी चाहिन्छ,’ हेटौंडा अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। रामकाजी महर्जनले भने, ‘संक्रमितका लागि पहिले छुट्टै अप्रेसन कक्ष र सुत्केरी कक्ष थिएन । तर अहिले अलग्गै व्यवस्था गरिएको छ, त्यसैले सक्रमितलाई सुत्केरी गराउन सम्भव भयो ।’

यो अस्पतालमा अहिले दैनिक १० देखि १५ जनासम्म सुत्केरी हुने गरेका छन् । त्यसमा एक, दुई जना संक्रमित सुत्केरी हुने गरेको अस्पतालले जनाएको छ ।