२०८० चैत्र १६, शुक्रबार    

प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी

२०७९ आश्विन १२, बुधबार १६:३३ बजे

बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश सरकारको सिफारिसमा बुधबार प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

प्रदेश मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको बैठकले अध्यादेश सिफारिस गरेको थियो । प्रदेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिए ।

 

अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नीतिगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।

 

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा  व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’’ खारेज गरेको छ ।