२०८१ बैशाख ७, शुक्रबार    

हेटौंडा औद्योगिक क्षेत्रमा बढेको भाडादर चार वर्षपछि लागू

२०७९ श्रावण १२, बिहीबार १३:५९ बजे

औद्योगिक क्षेत्रको जग्गामा गरिएको भाडावृद्धि हेटौंडामा चार वर्षपछि लागू भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयले २०७५ साउन १ गते वृद्धि गरेको भाडादर हेटौंडामा चालु आर्थिक वर्षबाट लागू भएको हो । केन्द्रले चार वर्ष अगाडि तोकिएको भाडादर लागू गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडालाई पत्राचार गरेसँगै कार्यालय उद्योगलाई नयाँ भाडा दरबारे पत्राचार गरेको हो ।

यसअघि १ रोपनी जग्गाको औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगले प्रतिवर्ष ८ हजार ३ सय रुपैयाँ भाडा तिर्दै आएका थिए । २०७५ साउन १ गते प्रतिरोपनी प्रतिवर्ष पाँच प्रतिशत वृद्धि गर्ने गरी १६ हजार २ सय रुपैयाँ नयाँ भाडादर कायम गरिएको थियो । अब हेटौंडा उद्योगभित्रका उद्योगले प्रतिरोपनी १९ हजार ७ सय ९१ रुपैयाँ तिर्नुपर्ने हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख भोजराज विनाडीले जानकारी दिए ।

‘चार वर्षदेखि वृद्धि नभएको भाडा अब एकैपटक लागू गरिएको हो,’ उनले भने । केन्द्रले वृद्धि भएको भाडाको विषयमा साउन २ गतेमात्र जानकारी गराएको उनले बताए । ‘हाम्रो कार्यालयलाई भाडा बढेको विषयमा ढिलो जानकारी प्राप्त भयो । त्यसकारण चारवर्षपछि बढेको भाडा लागू भएको हो,’ उनले भने । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावलीमा प्रति पाँच वर्षमा जग्गा भाडा पुनरावलोकन गर्ने व्यवस्था समेत रहेको बताए । ३२ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रका २६ सय रोपनी जग्गा भाडामा रहेको छ ।

औद्योगिक क्षेत्रमा १४९ वटा उद्योग रहेका छन् । जसमध्ये १३३ वटा सञ्चालनमा रहेका छन् भने ११ वट निर्माणाधीन अवस्थामा छन् । ५ वटा उद्योग बन्द रहेको व्यवस्थापन कार्यालयले जनाएको छ ।