वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशस्तरीय सडकमा बाढी, पहिरोको अवरोध हटाउन प्रतिकार्य टोली गठन गरेको छ ।
पाँच सदस्यीय द्रुत प्रतिकार्य टोलीको संयोजकमा यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक पुस्कर प्रसाद पोख्रेल रहेका छन् । उक्त टोलीले अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरुको पहिचान गरेर काम निरन्तर गर्ने, सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अवरुद्ध सडकहरु यथाशीघ्र छिटो सूचारु गर्ने र अन्तरनिकायमा समन्वय गर्ने लगायतका कामहरु गर्ने छ ।
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले बुधवार पत्रकार सम्मेलनमा जनसरोकारका विषयमा भौतिक पूर्वाधार मन्त्रालयले काम गर्न लागेको जानकारी गराए । जनउत्तरदायी ढंगले काम गर्नेगरी यो टिम गठन गरिएको उनले दाबी गरे ।