२०८१ बैशाख ३१, सोमबार    

केन्द्रको सिको गर्दै प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने

२०७८ माघ ६, बिहीबार १८:५६ बजे

हेटौंडा/ संघीय सरकारको सिको गर्दै वाग्मती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ ।

प्रदेश सरकारको विहीबार बसेको मन्त्रिपरिषद् वैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समिक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो । प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमिकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने स्वास्थ्य मन्त्री निमा लामा जानकारी दिए । श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलेको संयोजकत्वमा श्वेतपत्र लेखन समिति निर्माण गरिएको छ ।

वैठकले मुख्यमन्त्री राजेन्द्र पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति समेत निर्माण गरेको छ । यसैगरी मन्त्रीहरु नै संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति वैठकले गठन गरेको छ ।

मन्त्रिपरिषद्को वैठकले मन्त्रालयहरुको कर्मचारी संगठन संरचना र दरबन्दी समेत स्वीकृत गरेको छ । मन्त्री लामाका अनुसार प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन सातदिनको समय सीमा दिइएको छ । वैठकले प्रदेशको वित्तिय सुशान जोखिम मूल्यांकन कार्यविधि–२०७८ समेत स्वीकृत गरेको छ ।