२०८१ जेठ ८, मंगलबार    

राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको मुख्यमन्त्री पाण्डेको दावी

२०७८ फाल्गुन ७, शनिबार ०९:५५ बजे

हेटौंडा/ राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको दावी वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गरेका छन् ।

प्रजातन्त्र दिवसको सन्दर्भमा शनिबार विहान सम्बोधन गर्दै पाण्डेले अमेरिकी सहयोग नियोग एमसीसी अनुदानका कारण देशको राजनीति जटिल मोडमा पुगेको टिप्पणी गरेका हुन् । उनले लामो समयको संघर्षपश्चात् देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्नुपर्ने समयमा विदेशी अनुदानको विषयले राष्ट्रिय राजनीति नै जटिल मोडतर्फ धकेलेको दावी गरेका हुन् ।

‘अनुदानले विवाद र अप्ठेरोमा नेपाली राजनीतिलाई पुर्‍याएको छ । हामी राजनीति दलहरुले यसअघि पनि धेरै समस्याको समाधान मिलेर गरेका छौं । योपनि गर्छौ भन्ने हाम्रो विश्वास हो ।’, नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेले वाग्मती प्रदेशलाई सफा, उज्यालो र डिजिटाइज गर्ने काममा आफूहरु लागिपरेको बताए ।

‘वाग्मतीमा तीन दलको गठबन्धनको सरकार रहेको छ । हामीले न्यूनतम साझा कार्यक्रम तय गरिसकेका छौं । सोही अनुसार हामीले काम पनि गरिरहेका छौं । केही समयमा तपाईंहरुले महसुस हुने गरी हामी काम गर्नेछौं ।’, उनले भोट घट्ने डरले सत्यकुरा बोल्नबाट राजनीति दलहरु डराइरहेको बताए । उनले समाजमा रहेको असत्य, कुरिति र गलत क्रियाकलापको विरुद्ध सवैले आवाज दरो बनाउन जरुरी रहेको बताए ।

वाग्मती प्रदेश सरकारले तीनदिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार मूल समारोह समितिले शुक्रबार, शनिबार र आइतबार विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइरहेको छ ।