२०८३ भाद्र १६, मंगलबार    

साढे २० करोडको लागतमा हेटौंडामा प्रदेश प्रहरी कार्यालय भवन

२०८१ श्रावण ३०, बुधबार २०:०९ बजे

साढे ५ तले उक्त भवन पार्किङसहितको सुविधायुक्त छ । २० करोड ५१ लाखको लागतमा निर्माण गरिएको भवनमा १ सय ३२ कोठा रहेका छन् ।

प्रहरी संगठन प्रदेश सरकारको मातहतमा आइनसकेको भए पनि वाग्मती प्रदेश सरकारले प्रहरी संगठनलाई सवल र सक्षम बनाउन भवन निर्माणदेखि सवारी साधनसमेत उपलब्ध गराउँदै आएको छ ।

‘मुलुकमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने मुख्य दायित्व प्रहरीको हो,’ भवन उद्घाटन गर्दै मुख्यमन्त्री लामाले भने, ‘त्यसैले प्रहरी संगठनलाई सक्षम र सबल बनाउन सकेमा समाजमा आपराधिक घटना पनि न्यून हुन्छन् ।’ प्रदेश सरकारले विगतदेखि नै प्रहरी संगठनलाई सवल र सक्षम बनाउन सहयोग गर्दै आएको पनि उनले बताए ।

नेपाल सरकारले लागू गरेको भवन निर्माणसम्बन्धी आचासंहितालाई पालना गरी भूकम्पीय जोखिमलाई न्यूनीकरण हुने गरी उक्त भवन निर्माण गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले बताए ।

वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौंडाले विनियोजित गरेको रकमबाट पहिलो चरण अर्थात् ०७५/०७६ मा ४६ वटा प्रहरी इकाइ भवनहरूको निर्माण कार्यको थालनी गरिएको थियो । आव २०७७/०७८ मा पहिलो चरणका भवनहरूको निर्माण सम्पन्न गरी दोस्रो चरणमा १९ करोड ४१ लाखको लागतमा २१ वटा प्रहरी चौकी भवन निर्माण गरेको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश सरकारले १३ जिल्लाका विभिन्न क्षेत्रमा ६२ वटा प्रहरी इकाइ भवनहरूको निर्माण गरिसकेको छ भने ३ वटा प्रहरी इकाइ भवनको निर्माण कार्य सम्पन्न हुन बाँकी छ । आव २०७९/०८० मा विनियोजित रकमबाट तेस्रो चरणअन्तर्गत ४ वटा प्रहरी इकाइ भवनहरूको निर्माण कार्य धमाधम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । आव ०८०/०८१ मा वाग्मती प्रदेश प्रहरी अस्पतालका लागि पनि टेन्डर आह्वानको प्रक्रिया अगाडि बढाइएको छ ।