२०८१ जेठ ४, शुक्रबार    

संसदीय समिति सभापति छान्न निर्वाचन

२०७८ माघ १४, शुक्रबार १७:५० बजे

हेटौंडा/ वाग्मती प्रदेश सभाअन्तर्गत् रहेका दुईवटा संसदीय समितिले सभापति छनौट गर्न मतदान गर्ने तयारी गरहेको छ ।

अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि सोमबार निर्वाचन हुने भएको हो । प्रदेश सभा सचिवालयले शुक्रबार निर्वाचन प्रक्रियाका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । बैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ ।

अर्थ तथा विकास समितिका सदस्यहरु सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहको कारण उनीहरु निर्वाचनमा सहभागी हुनेछैनन् । अर्थ तथा विकास समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त रहेको छ ।

प्रदेश सभाका सचिव कृष्णहरि खड्का समितिको सभापति पदको प्रस्ताव भने आइतबार अपरान्ह ५ बजेसम्ममा दर्ता गराउने समय तय गरिएको बताए । प्रदेश सभा सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको छ ।