२०८१ बैशाख १४, शुक्रबार    

खेलकुदको विकासमा उपमहानगर सदैव तयार छ : बानियाँ

२०७९ आश्विन ६, बिहीबार १८:२२ बजे

हेटौंडा उपमहानगरपलिकाका उपमेयर राजेश बानियाँले भलिबल खेलको विकासका लागि उपमहानगर सदैव तयार रहेको बताएका छन् ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा बिहीबारबाट शुरु भएको चौंथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमख अतिथि बानियाँले राष्ट्रियस्तरको भलिबल मैदान निर्माणको लागि उपमहानगरले यथेष्ट सहयोग गर्ने प्रतिबद्धता जनाए । हेटौंडामा अन्तर्राष्ट्रियस्तरको भलिबल मैदान निर्माण गर्न नसकेपनि राष्ट्रिय स्तरको भलिबल मैदान निर्माणका लागि जुट्न भलिबलसंघलाई आग्रह गरे ।

उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी, जिल्ला भलिबल संघका अध्यक्ष बसन्तकुमार सिटौलालगायत खेलक्षेत्रका व्यक्तित्वहरुको उपस्थिती थियो । प्रतियोगीतामा पुरुषतर्फका ११ र महिलातफर्का ९ वटा टिम गरी २१ टीमले सहभागीता जनाएका छन् ।

असोज ९ गतेसम्म हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरले २ लाख ५० हजार बजेट उपलब्ध गराएको छ ।