२०८१ बैशाख २१, शुक्रबार    

महिलाले हाँक्दै मकवानपुरको चार मतदान केन्द्र

२०७९ बैशाख ३०, शुक्रबार ०८:२३ बजे

मकवानपुरका चार मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । मकवानपुरका तीन सय ५६ मतदान केन्द्रमध्ये चारवटा केन्द्रमा महिला कर्मचारी मात्र खटिएका हुन् ।

हेटौँडा उपमहानगरपालिका– २ स्थित सिद्धार्थ मावि मतदान केन्द्र (घ)मा मतदान अधिकृत विष्णुकुमारी लामिछानेको नेतृत्वमा केन्द्र सञ्चालन हुँदै छ । यस केन्दैमा चार महिला कर्मचारी खटिएका छन् । हेटौँडा–१२ स्थित महेन्द्र मावि मतदान केन्द्र (घ)मा शान्तिमाया मोक्तानको नेतृत्वमा पाँच कर्मचारी खटिएका छन् । हेटौँडा–९ स्थित प्रगति मावि मतदान केन्द्र (ङ)मा शारदाकुमारी मैनालीको नेतृत्वमा पाँच र हेटौँडा–१० स्थित टिसिएन भवन मतदान केन्द्र (ग)मा मतदान अधिकृत सुनिता सुवेदीको नेतृत्वमा चार महिला कर्मचारी खटिएका छन् ।

सिद्धार्थ मतदान केन्द्र (घ)की मतदान अधिकृत लामिछानेले आफूसहित सबै महिला कर्मचारी खटिए पनि कुनै समस्या नभएको बताइन् । उनले मतदान केन्द्र बजार क्षेत्रमै रहेको र सुरक्षाका दृष्टिकोणले कुनै समस्या नभएकाले महिला मात्र भए पनि आपूmहरूले ढुक्क भएर निर्वाचन गराउने प्रतिक्रिया दिइन् । ‘महिला हुँदा कुनै समस्या छैन, सबै मिलेर काम गर्न अझ सहज हुनेछ,’ उनले भनिन् । 

टिसिएन भवन मतदान केन्द्र (ग)की मतदान अधिकृत सुवेदीको धारणा पनि उस्तै छ । उनले पनि महिला मात्र मिलेर काम गर्न सहज हुने र कुनै समस्या नहुने बताइन् । ‘हामी सबै महिला कर्मचारी मिलेर स्वच्छ, निष्पक्ष र सुरक्षित तवरबाट हाम्रो मतदान केन्द्रमा निर्वाचन गर्नेछौँ । कुनै समस्या भएको छैन,’ सुवेदीले नयाँ पत्रिकासँग भनिन् ।

१० स्थानीय तह रहेको मकवानपुरमा १ उपमहानगर, १ नगरपालिकासहित ८ गाउँपालिका छन् । यहाँ दुई लाख ९४ हजार नौ सय २९ मतदाता छन् । हेटौँडा उपमहानगरमा एक लाख चार हजार चार सय ७३, थाहा नगरपालिकामा ३२ हजार तीन सय सात, बागमती गाउँपालिकामा १२ हजार तीन सय २८, इन्द्रसरोवरमा १२ हजार चार सय ७१ मतदाता छन् । कैलाश गाउँपालिकाम १४ हजार पाँच सय ८६, बकैयामा २९ हजार नौ सय ४३, भीमफेदीमा १७ हजार चार सय २८, मकवानपुरगढीमा १९ हजार एक सय १८, मनहरीमा २६ हजार सात सय २१ र राक्सिराङ गाउँपालिकामा १५ हजार आठ सय ३२ मतदाता छन् । जिल्लामा एक सय ६५ र मतदान केन्द्रमध्ये १९ वटा अतिसंवेदनशील मतदान केन्द्र रहेको छ ।