२०८१ बैशाख १७, सोमबार    

चोरी नियन्त्रणको लागि प्रहरी प्रमुखलाई ध्यानाकर्षण

२०७९ असार १४, मंगलबार १३:२३ बजे

हेटौंडामा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएको खबरहरु आइरहेको सन्दर्भमा मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय मकवानपुर समक्ष नियन्त्रणको लागि सोमबार अनुरोध गरेको छ । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा वस्तुगत संघका प्रतिनिधिहरुसहित गएको टोलीले ध्यानाकर्षणको लागि पत्र बुझाएको हो ।

टोलीमा संघका उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट, राजु अधिकारी, मकवानपुर ग्याँस व्यवसायी संघका अध्यक्ष दिलिश गोविन्द जोशी, हेटौंडा अटो मोबाइल एशोसिएशनका अध्यक्ष दामोदर अटल र मोवाइल एशोसिएशनका अध्यक्ष दिनेश लामाको उपस्थिति रहेको थियो ।


चोरी नियन्त्रण गर्न निरन्तर प्रहरी गस्ती परिचालन, चालु सडक बत्ति र गुणस्तरीय सिसिटिभीको सूचारु अवस्था आवश्यक रहेको जिकिरसहित थप शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालले अनुरोध गरेका छन् । पत्र ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुड्डले तुरुन्तै गस्ती बढाउने आश्वासन दिएका छन् ।