२०८२ बैशाख ११, बिहीबार    

हेटौंडा उपमहानगरले तोक्यो ४४ वटा गौरवको आयोजना

२०८१ जेठ २६, शनिबार १६:३२ बजे

हेटौंडा उपमहानगरपालिकाले ४४ वटा गौरवको आयोजना तय गरेको छ । उपमहानगरले तयार पारेको ५ वर्षे आवधिक योजनाअन्तर्गत् उक्त आयोजनाहरू तयार गरेको हो ।

वाग्मती प्रदेशको एकमात्र उपमहानगरको रुपमा रहेको हेटौंडाले करिब ७ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने योजनाको तय गरेको हो । उपमहानगरले २०८१/०८२ देखि ०८५/०८६ सम्मको आवधिक योजना तयार पार्दा ११ वटालाई पहिलो प्राथमिकतामा राखेर गौरवको योजना तय गरिएको मेयर मीनाकुमारी लामाले जानकारी दिइन् ।

असार २ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने आन्तरिक तयारीमा जुटेको उपमहानगरले ‘खल्ती’बाट योजना हाल्ने कार्यलाई पूर्णरुपमा बन्द गर्न आवधिक योजनासहित गौरवको आयोजना तोकेर अगाडि बढ्ने भएको हो ।

उपमहानगरले हेटौंडामा विजनेस कम्प्लेक्स, टर्मिनल बसपार्क, प्रादेशिक थोक कृषि बजार, चक्रपथ निर्माण, गुम्बाडाँडामा अन्तर्राष्ट्रियस्तरको कार्यशाला पार्क निर्माण, ७ किलोमिटरको कर्रा करिडोर निर्माण तथा अटो भिलेज निर्माणलाई प्राथमिकतामा राखेको छ ।

मेयर लामाका अनुसार हेटौंडाको बसामाडीमा ट्रक टर्मिनल निर्माण, हेटौंडा–१० स्थित वनविज्ञानमा जियोलोजिक पार्क, हेटौंडा–१६, १७ र १८ मा जग्गा एकीकरण योजना र धरान–चतरा सडकमा करिडोर निर्माणलाई गौरवको योजनामा राखिएको छ । ‘हामीले प्रदेश तथा संघीय सरकारको समेत बजेट अब गौरवको योजनामा विनियोजन गर्न पहल गर्नेछौं,' मेयर लामाले भनिन् ।

उपमहानगरले आर्थिक, सामाजिक, पूर्वाधार, संस्थागत विकास र वन, वातावरण तथा विपद् व्यवस्थापनलाई मध्यनजर गरेर गौरवको योजना तय गरिएको हो । ‘हामीले यसै आर्थिक वर्षबाट गौरवको आयोजनाको काम अगाडि बढाइरहेका छौं । अब अझै तीव्ररुपमा अगाडि बढाउनेछौं ।' उपमेयर राजेश बानियाँका अनुसार राजस्व संकलनमा आएको गिरावट र आर्थिक मन्दीको प्रत्यक्ष असर उपमहानगरलाई परेको बताए । उद्योग, कृषि, शिक्षा, स्वास्थ्य तथा प्रशासन र पर्यटन क्षेत्रलाई उपमहानगरले नगर विकासको प्रमुख संवाहकको रुपमा तय गरेको छ ।

आगामी आवमा उपमहानगरले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिरहेको उपमेयर बानियाँले बताए । ‘अघिल्लो वर्ष हामीले खानेपानीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेका थियौं । हामीले जनतासँग निर्वाचनमा गरेको वाचा पूरा गरेका छौं । हामीले खानेपानी दिने भनेको न्यूनतम महसुल छुट दिएका छौं,’ बानियाँले भने । आगामी आवमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको उनले बताए ।

‘अबको हाम्रो प्राथमिकता शिक्षा हो । यसक्षेत्रलाई कसरी सुधार गर्ने भनेर योजना निर्माण गरिरहेका छौं,' बानियाँले भने, ‘बाटो, खानेपानीलगायत भौतिक पूर्वाधारका कामहरू भइरहेका छन् । अब शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्नेमा सबै जनप्रतिनिधिको एकमत रहेको छ ।'

उपमहानगरले गतआवको तुलनामा आगामी वर्ष करिब ४० करोड रुपैयाँ बजेट घट्ने अनुमान गरेको छ । गतआवमा करिब २ अर्ब ६० करोड रुपैयाँको कुल बजेट उपमहानगरले नगरसभामा पेस गरेको थियो ।